नियात्रा

खुम्जुङ गाउँ पुग्दा

ज्ञानेन्द्र विवश
२३ साउन २०८३ ७:५०

‘खुम्जुङ र खुन्दे गाउँहरू खुम्बु क्षेत्रको शुद्ध शेर्पा संस्कृति र मौलिक जीवनशैलीका प्रतिनिधि हुन्’ भन्ने कुरा धेरैअघि नै सुनेको थिएँ। नाम्चे बजारजस्तो पर्यटकीय चहलपहल यहाँ कम हुन्छ भन्ने पनि थाहा पाएको थिएँ।

अधिकांश पदयात्री नाम्चेबाट उकालो लागेर सीधै तेङ्बुचेतिर अघि बढ्छन्। म पनि त्यही यात्राको एउटा सदस्य थिएँ। तर नाम्चेमै यी गाउँहरूको चर्चा सुनेपछि मेरो मनले यात्राको दिशा अलिकति फेरिदियो।

पर्यटक कम पुग्ने भएकाले यहाँको जीवन अझै परम्परागत, शान्त र आफ्नै लयमा बाँचेको छ भन्ने कुराले मलाई आकर्षित गर्‍यो। त्यसैमाथि यार्बु शेर्पा भाइजस्तो जानकार सहयात्री साथमा हुनु मेरो यात्राको अर्को सौभाग्य बन्यो।

स्याङ्बुचेको गुराँसले ढाकेको ओरालो बिस्तारै झर्दै केहीबेरमै हामी समुद्री सतहदेखि करिब ३,७९० मिटरको उचाइमा अवस्थित खुम्जुङ गाउँको छेउमा आइपुग्छौँ। गाउँमा प्रवेश गर्नुअघि नै पारिपट्टिको पहाडले मेरो दृष्टि तान्छ।

वर्षौँदेखि घाम, पानी, हिउँ र हुरीसँग जुध्दै आएको त्यो कठोर भूभाग फलामजत्तिकै दृढ देखिन्छ। चट्टानका सतहमा प्रकृतिले आफैँ कुँदिदिएका जस्ता अनेकौँ आकृतिहरू देखिन्छन्। प्रत्येक रेखा, प्रत्येक बुट्टा र प्रत्येक तहले मानौँ कुनै प्राचीन कथा बोकेर उभिएको अनुभूति गराउँछ। त्यो पहाड आफैँमा एउटा मौन कलादीर्घाजस्तो लाग्छ।

बाटोभरि फर्फराइरहेका लुङ्दर, गुम्बा र चैत्यवरिपरि झुन्डिएका प्रार्थना-ध्वजापताकाहरूले गाउँलाई निरन्तर चलायमान बनाइरहेका छन्। हावासँगै तिनको फर्फराहटले बौद्ध जीवनदर्शनको मौन संगीत गाउँभरि छरिरहेको जस्तो लाग्छ।

हरियालीले अङ्गालो हालेको फराकिलो उपत्यकामा बसेको खुम्जुङ आफ्नै लयमा मुस्कुराइरहेको देखिन्छ। यसको प्राकृतिक बनोट र सौन्दर्यले पहिलो भेटमै मन तान्छ।

खुन्दे गाउँ फर्कँदा हेर्ने निधो गरेर हामी ढुङ्गा बिछ्याइएको फराकिलो बाटो हुँदै खुम्जुङभित्र प्रवेश गर्छौँ। वरिपरिका हरिया पाखा, फिक्का हरियो जस्ताले छाएका घरहरू र निर्मल वातावरणलाई आँखाभरि सँगाल्दै गुम्बा नजिक पुगेर केहीबेर विश्राम गर्छौँ।

मेरो मुखबाट अनायासै शब्द फुत्किन्छ- ‘वाह! नाम्चेको भीडभाडपछि यहाँको शान्त वातावरण त कति फरक रहेछ! खुम्जुङ साँच्चै सुन्दर गाउँ रहेछ। यसको बनोट पनि नाम्चेको घोडाको खुरजस्तो होइन, आफ्नै फराकिलो उपत्यकाको लयमा फैलिएको छ।’

यार्बु शेर्पा भाइ सामुन्नेको खुम्बिला हिमालतिर औँला देखाउँदै भन्छन्- ‘हो दाजु, खुम्जुङ एउटा फराकिलो उपत्यकामा बसेको गाउँ हो। यसको सौन्दर्यको मूल कारण यही शान्त वातावरण र वरिपरिका आमादब्लम तथा खुम्बिला हिमाल हुन्। विशेष गरी खुम्बिलालाई शेर्पाहरू देवताको निवास मान्छन्। त्यसैले यो हिमाल आरोहणका लागि पूर्ण रूपमा निषेध गरिएको छ।’

‘त्यसो भए, यो गाउँको मुकुट नै खुम्बिला हिमाल रहेछ,’ म खुम्बिलातिर दृष्टि गाढा पार्दै भन्छु।

यार्बु भाइ मुस्कुराउँदै टाउको हल्लाउँछन्। उनका कुरा सुन्दै जाँदा खुम्जुङको जनजीवन, यसको इतिहास र शिक्षाबीच गहिरो सम्बन्ध रहेको अनुभूति हुन्छ।

गाउँको बीचभागमा रहेको गुम्बा र विद्यालयतर्फ औँला देखाउँदै उनी भन्छन्– ‘खुम्जुङ शेर्पा संस्कृतिको सबैभन्दा पुरानो र ठूला बस्तीहरूमध्ये एक हो। यहाँको जीवन अझै परम्परागत लयमै बगिरहेको छ। महिलाहरू खेतीपाती र घरव्यवहार सम्हाल्छन्। पुरुषहरू प्रायः पदयात्रा, पर्वतारोहण र त्यससँग सम्बन्धित पेसामा संलग्न हुन्छन्।’

गाउँको एक छेउमा देखिएको विद्यालय भवनतिर हेर्दै म जिज्ञासापूर्वक सोध्छु- ‘यो विद्यालय यति प्रसिद्ध हुनुको कारण के हो?’

उनको अनुहारमा सम्मानको भाव झल्किन्छ। उनी विगततिर फर्किन्छन्। ती दिनका यादहरू उनको आँखैसामु झल्झली आउन थालेको अनुमान गर्छु।

‘यही त खुम्जुङको सबैभन्दा ठूलो ऐतिहासिक सम्पदा हो दाजु,’ उनी भन्छन्- ‘खुम्जुङ विद्यालयको स्थापना सगरमाथाका प्रथम विजेता सर एडमन्ड हिलारीले सन् १९६१ मा गर्नुभएको हो। उहाँले आफ्नो ‘हिमालयन ट्रस्ट’ मार्फत खुम्बु क्षेत्रमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका अनेक काम अघि बढाउनुभएको छ। यही विद्यालयबाट आधुनिक शिक्षाको उज्यालो यस हिमाली भेगमा फैलिन थालेको हो।’

सर एडमन्ड हिलारीको नाम कानमा पर्नासाथ मेरो शिर स्वतः श्रद्धाले निहुरिन्छ। मनमा एउटै प्रश्न तरङ्गित हुन्छ- आजजस्तो बाटो, सञ्चार, होटल र सुविधा केही नभएको समयमा उहाँले यति दुर्गम हिमाली भूभाग पार गर्दै सगरमाथाको चुचुरोसम्म पुग्ने अदम्य साहस कहाँबाट बटुल्नुभयो होला?

उहाँले केवल संसारको सर्वोच्च शिखर मात्र चुम्नुभएन, खुम्बुको जनजीवनमा शिक्षा र सेवाको एउटा उज्यालो युग पनि आरम्भ गरिदिनुभयो भन्ने अनुभूतिले मेरो मन गहिरो सम्मानले भरिन्छ।

शेर्पा भाइ स्थानीयसँग सोध्दै र आफूले जानेका कुरा थप्दै मलाई निरन्तर जानकारी दिइरहन्छन्। उनी भन्छन्- ‘हिलारीले शेर्पा समुदायप्रतिको आफ्नो ऋण यसरी तिर्न खोज्नुभएको रहेछ। यो विद्यालय केवल एउटा भवन होइन, शिक्षा, सेवा र साझेदारीको जीवित विरासत हो।’

खुम्जुङको अर्को परिचय भने यसको सांस्कृतिक सम्पदा र प्रकृतिप्रतिको गहिरो श्रद्धा हो। हामी बिस्तारै गाउँको प्राचीन साम्तेन छोलिङ गुम्बातिर पुग्छौँ। गुम्बा परिसरमा प्रवेश गर्नेबित्तिकै वातावरण आफैँ गम्भीर र शान्त बन्छ।

शेर्पा भाइ मानेढुङ्गामा श्रद्धापूर्वक हात राखेर ढोग्छन् र भन्छन्- ‘यो साम्तेन छोलिङ गुम्बा खुम्जुङको अर्को महत्त्वपूर्ण आस्था केन्द्र हो। यहीँ एउटा अनौठो र दुर्लभ अवशेषका रूपमा यतीको टाउको सुरक्षित राखिएको विश्वास गरिन्छ। धेरैले यसलाई मिथक भन्छन्, धेरैले आस्थाको विषय मान्छन्। तर यसले शेर्पा समाजको लोकविश्वास र सांस्कृतिक स्मृतिलाई आजसम्म जोगाइराखेको छ।’

म अनायासै बर्बराउँछु- ‘कस्तो अद्भुत सङ्गम! एउटै गाउँमा खुम्बिला देवताको आराधना, सर एडमन्ड हिलारीले रोपेको आधुनिक शिक्षाको उज्यालो र यतीको रहस्यमय लोककथा! खुम्जुङको सौन्दर्य बाहिरको आँखाले मात्र देखिने होइन रहेछ। यसको वास्तविक सुन्दरता त यसको संस्कृति, विश्वास र शान्त आत्माभित्र लुकेको रहेछ।’

म गुम्बाको फराकिलो आँगनभरि दृष्टि डुलाउँछु। सफासुग्घर ढुङ्गे परिसर, प्रार्थनाको शान्त वातावरण र चारैतिर फैलिएको अनुशासनले मनमा छुट्टै श्रद्धा जगाउँछ।

यार्बु भाइ बताउँछन्- ‘बुद्धजयन्ती, मणि रिम्डु तथा अन्य धार्मिक अवसरमा यही आँगन सयौँ बौद्धमार्गी, लामा गुरु र आनीहरूले भरिन्छ। केही महिनाअघि मात्रै यहाँ एक सय आठ जना बौद्ध धर्मगुरु र आनीहरूको विशेष धार्मिक अनुष्ठान सम्पन्न भएको थियो। त्यसैले पनि यो गुम्बा शेर्पा समुदायको आध्यात्मिक केन्द्रका रूपमा अझ सम्मानित मानिन्छ।’

खुम्जुङ गाउँको परिवेशमा आँखा डुलाउँदै म यार्बु भाइको कुरा सम्झिन्छु। साँच्चै प्रकृति, अध्यात्म र सरल जीवनशैलीले खुम्जुङ गाउँ सुन्दर रहेछ भन्ने लाग्छ।

(‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ प्रकाशोन्मुख नियात्रा सङ्ग्रहबाट)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *