पढ्नका लागि सिंगापुर गए गगन थापा, उतै लगाए ‘सिंगापुरे’ भाइटीका

डिसी नेपाल
१३ कार्तिक २०७६ १०:४५

काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर गएका छन् । भाइटीकाको ठिक अघि अध्ययनका लागि सिंगापुर गएका थापाले भाइटीका पनि उतै लगाएका छन् । थापाले ट्वीटरमार्फत यस विषयमा जानकारी दिएका हुन् । उनले एउटा ट्वीटमा आफू अध्ययनका लागि सिंगापुर गएको जानकारी दिएका छन् भने अर्को ट्वीटमा सिंगापुरमै भाइटीका लगाएको जानकारी दिएका छन् ।

थापाले ट्वीटमा उल्लेख गरेअनुसार उनी शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेका हुन् । उनको अध्ययन धेरै लामो भने हुने छैन । थापाले लेखेअनुसार उनी सिंगापुरको नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहनेछन् । थापाले शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्नेछन् ।

वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि थापा त्यहाँ पुगेका हुन् । केही महिना पहिले थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्स गरेका थिए । थापाले सिंगापुरमै भाइटीका लगाएको पनि जनाएका छन् । उनले अर्को ट्वीटमा लेखेका छन्, ‘कस्तो सुखद संयोग, अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटीका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चानसँग भाइटीका । ३० वर्षदेखि भाइटीका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटीका ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *