उपनिर्वाचन : उम्मेद्वार चयन गर्न कांग्रेस पदाधिकारी बैठक

डिसी नेपाल
१४ कार्तिक २०७६ ७:३३

काठमाडौं। उपनिर्वाचन हुन मात्र एक महिना बाँकी रहँदासमेत उम्मेद्वारको टुंगो लगाउन नसकेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बिहीबार (आज) पदाधिकारी बैठक बस्दैछ। उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउन आज बिहान पदाधिकारी बैठक बोलाएको हो।

जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुंगो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागि पदाधिकारी बैठक बोलाइएको हो।

कान्तिपुर दैनिकका अनुसार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको हो। बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ। पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए । यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै यी कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगन गरिएको थियो।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *