तीनकुनेमा हामी नेपाली (टिप्पणी)
डा प्रदीप ढकाल
काठमाडौँको तीनकुने अहिले चर्चामा छ । त्यो चर्चाले हाम्रो समाजको वास्तविक तस्वीर छर्लङ्ग पारिदिएको छ। तीनकुनेमा विदेशी पाहुना आउने बेलामा राखिएका दुबो र फूलहरुको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ छन्, आधुनिक क्यामरा जडान गरिएका छन्।
कुन व्यक्तिले दुबो चोरे, फूल चोरे भन्ने कुरा गौण हो। हामी नेपालीको वास्तविक प्रतिनिधि पात्र हुन् – ती चोर। हाम्रो असली अनुहार हेर्न तीनकुने गए पुग्छ। हामी समृद्ध नेपाल हेर्न चाहन्छौँ, हामी हाम्रो देश विश्वका अन्य देशहरु जस्तै भएको हेर्न चाहन्छौँ । तर के साँच्चि नै हामीले समृद्ध राष्ट्रको सपना पूरा गर्न सक्छौँ त ? विकास, उन्नति र प्रगतिको कुरा गर्ने हैसियत राख्दछौँ त ? अहँ कदापि राख्दैनौँ । हाम्रो हैसियत र अवस्था हेर्न तीनकुने गए पुग्छ।
हामी सारा नेपालीले हाम्रा विदेशी पाहुनालाई स्वागत गर्नका लागि दुबो रोप्यौँ, फूल रोप्यौँ – त्यही बाटोमा एउटा सुन्दर बगैँचा निर्माण गर्यौँ । रातारात निर्माण भएको उक्त बगैँचा साँच्चि नै सुन्दर बन्यो। ईच्छाशक्ति हुने हो भने केही दिनमा नै हामीले विकास गर्न सक्छौँ भन्ने पनि प्रमाणित गर्यौँ । तर अन्ततः हामीले हाम्रो आफ्नै वास्तविक स्वरुप देखाइहाल्यौँ – दूबो चोर्यौँ।
रातारात निर्माण भएको उक्त बगैँचा साँच्चि नै सुन्दर बन्यो। ईच्छाशक्ति हुने हो भने केही दिनमा नै हामीले विकास गर्न सक्छौँ भन्ने पनि प्रमाणित गर्यौँ । तर अन्ततः हामीले हाम्रो आफ्नै वास्तविक स्वरुप देखाइहाल्यौँ – दूबो चोर्यौँ।
हाम्रो दुबो कुनै अर्को देशका मानिस आएर चोरेका पनि होइनन्। अर्को ग्रहबाट कुनै प्राणी आएर लिएर गएका पनि होइनन् । पराईले चोरे भनेर दोष दिन पाए पनि अलिअलि सन्तोष त हुँदो हो । हामीलाई अरु कुनै शक्तिले चोर्न प्रेरित गरेको हो भन्न पाएको भए पनि थोरै राहत हुँदो हो । तर अरुले त किन तीनकुनेको दुबो चोर्थे र हामी आफैले आफ्नो वास्तविक परिचय दिएका छौँ । क्यामरा लिएर कतिबेला कुन चोर आएर चोर्छ भनेर चियो गर्नुपर्ने अवस्थाका छौँ हामी ।
हामी आफ्नो कर्म गरेर सिर्जना गर्नुभन्दा अरुले गरेका कार्यमा प्रतिक्रिया दिन रुचाउँदछौँ । बन्द कोठामा बसेर षडयन्त्रका तानाबुना बुन्दै आफ्नो सिर्जनात्मक क्षमतालाई हामी धूलिसात् गर्दछौँ । अरुले गरेको प्रगति, अरुको उन्नति हामीलाई पटक्कै पच्दैन । हामी नेतृत्ववर्गलाई भरमार गाली गर्न पाउँदा आनन्दित हुन्छौँ । तर हामी सबै मिलेर तीनकुनेको दूबो चोर्नमा पनि उत्तिकै रमाउँछौँ ।
हामी अरु चन्द्रमा/मंगल ग्रहमा पुगेको कुरा सुनेर हामी पनि जान पाए भन्ने सोच्दछौँ – तर त्यस्तो सोच खोक्रो हो भन्ने कुरा हामी दुबो चोरेरै प्रमाणित गरिदिन्छौँ । हामीलाई चन्द्रमामा पुग्न हजारौँ बर्ष लाग्छ (सम्भवतः कहिल्यै पुग्दैनौँ) भन्ने प्रमाणित हामी तीनकुनेमा गएर गरिदिन्छौँ । किनकी जतिसुकै ठूला कुरा गरेपनि हामी तीनकुनेमा जम्मा भएका छौँ – दुबो चोर्न ।
जबसम्म हामी सारा नेपालीहरु मिलेर तीनकुनेलाई सजाउन सक्दैनौँ तबसम्म हाम्रो देश विकासको कुनै गुञ्जाइस् नै छैन । जबसम्म हामी तीनकुनेका दूबो र फूल लुट्दछौँ तबसम्म हामीले हाम्रो देशको भविष्य र भावी सन्ततिको भविष्य पनि लुछ्दछौँ ।
लेखक पशुपति क्षेत्र विकास काेषका सदस्य सचिव हुन्।
Facebook Comment