अत्याधुनिक पेस्तोलसहित बाँकेबाट ६ जना पक्राउ

डिसी नेपाल
१५ कार्तिक २०७६ ११:२६

राँझा । बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित छ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट गए राति करीब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपाली काङ्ग्रेस निकट युवा सङ्गठन तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जना रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

उनका अनुसार रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नंको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन्।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *