कात्तिक नाचको चौथो दिन : बाथः प्याखँ अर्थात् सती जाने परम्परा
ललितपुर । ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज चौथो दिन बाथःप्याखँ (तिखिकाँ, छ्योँ ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको छ ।
पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ सातबजेदेखि कात्तिक नाच हुँदै आएको छ। सो नाचको कथामा तीन जना बाठा दाजुभाई हुन्छन् । यी तीन मध्ये एक जनाले बाठो भएर अर्को गाउँमा गई एउटी केटी बिहे गरेर ल्याउँछ ।
बिहे गरेको केही समयपछि सो पुरुषको मुत्यु भई सति गएको कुरालाई नृत्यमा मञ्चन गरी देखाइने पाटनका ७२ वर्षीय वृद्ध सूर्यमान डङ्गोलले जानकारी दिए।
आजको नाचमा मुख्य गरी तीन जना दाजुभाईको बठ्याइँलाई उल्लेख गरी परापूर्वकालमा महिलाले पतिको स्वर्गारोहण भएपछि सती जानुपर्ने कुरालाई नाचमा मञ्चन गरिने पाटनका वृद्धवृद्धाको भनाइ छ । सो कथामा पात्रको आउने जाने क्रम रहँदा कूल १६ जना कलाकारको आवश्यकता रहने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताए।
गत कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ, दोस्रो दिन भक्त सुरदास प्याखँ र तेस्रो दिन बाथ प्याखँ मञ्चन भइसकेको छ ।
विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्ल पूर्णिमासम्म देखाइने सो नाच यो वर्ष कात्तिक शुक्लपञ्चमीदेखि शुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए ।
विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले करीब पौने चारसय वर्ष अगाडि कात्तिक नाच शुरुआत गरेका हुन्। शाक्यले भने, “यस नाचको आफ्नै धार्मिकविधि रहेकाले यसलाई ‘कार्तीप्याखाँ’ अर्थात ‘कात्तिकनाच’ भन्ने गरिएको हो।”
सत्रौँ शताब्दीमा शुरु भएको कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ ।
नाचको माध्यमबाट जीवन उपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई पनि देखाउने गरेको समितिले जानकारी दिएको छ । उपत्यकाको तीनै सहरबाट साँझमा कात्तिक नाच हेर्ने एक हजार ५०० देखि दुई हजार मानिस भित्रिएका वृद्ध डङ्गोलको भनाइ छ ।
उनले भने, “विगतका वर्षको तुलनामा यो वर्ष पाटनमा धेरै मानिस भित्रिएका छन् । यो नाच हेर्न स्वदेशी व्यक्तिका साथै विभिन्न मुलुकबाट आएका विदेशी पर्यटकले पनि डबली भरिएको छ ।” पाटनमा कात्तिक नाच हेर्न आउने मानिसको ठूलो भीड लाग्ने गरेको छ ।
Facebook Comment