चक्रपथ विस्तारः यसरी काटिँदैछन् सडकछेउका रुखहरु (फोटोफिचर)

डिसी नेपाल
२० कार्तिक २०७६ १६:२६

काठमाडौं। दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाको काम अहिले धमाधम भइरहेको छ । सडक विभागले अहिले कलंकीदेखि महाराजगञ्जसम्मको सडकमा रहेको रुख काट्न सुरू गरेको छ । कलंकीदेखि रुख काट्दै गएका कामदारहरु अहिले स्वयम्भू पुगेका छन् । कलंकीदेखि महाराजगञ्जसम्ममा २ हजार ९३ वटा रुख काट्नुपर्ने वन विभाग इन्जिनियर विमल श्रेष्ठले जानकारी दिए ।

कलंकीदेखि महाराजगञ्जसम्मको लम्बाई ८.२ किलोमिटर छ । सडकको मध्यभागबाट ३१÷३१ मिटरमा पर्ने रुखहरू काट्ने काम अहिले धमाधम चलिरहेको छ । रुख काट्नको लागि अहिले ६ जना कामदार मात्र परिचालित छन् । उनीहरुसँग २ वटा मात्र रुख काट्ने मेसिन भएकोले काममा केही ढिलाइ भएको छ । कलंकीदेखि महाराजगञ्जसम्म ७ सय ५७ वटा रुख काट्न सम्झौता भएको र यो काम करिब १५–२० दिनमा सम्पन्न गर्ने लक्ष्य लिइएको बताइएको छ ।

रुख काट्ने काम गर्दा कामदारहरुले भने कुनैपनि सुरक्षा कवच चस्मा, पन्जा, भिजिविलिटी ज्याकेट आदि लगाएका छैनन् । राजधानीको अत्यन्तै व्यस्त चक्रपथको छेउमा काम भइरहेको भए पनि कुनै सावधानी बोर्ड समेत राखिएको छैन । यहाँ काटिएका सम्पूर्ण रुखहरु गोठाटारमा रहेको नेपाल वन निगम लिमिटेडले जम्मा गरेको छ । निगमले यी रुखहरु पछि निलाम गर्ने योजना बनाएको छ ।

चीन सरकारको सहयोगमा यो सडक विस्तार हुन लागेको हो । केही समय अघि मात्रै चिनियाँ सहयोगमा कलंकी कोटेश्वर सडकखण्ड निर्माण सम्पन्न भएको छ । पहिलोचरणमा कलंकी कोटेश्वर सडकखण्ड विस्तार भइसकेपश्चात चिनियाँ सहयोगमा नै दोस्रो चरणको काम सुरू भएको हो ।

सबै तस्वीर : रमण मानन्धर/डिसीनेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *