‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शनमा

डिसी नेपाल
२२ कार्तिक २०७६ १२:०१

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत शुक्रबार (आज)देखि दुई नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन्। फिल्म ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएका हुन्। यी दुवै फिल्म फरकफरक कथामा निर्माण भएका हुन्।

‘घामड शेरे’
‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड शेरे’लाई युवापुस्तालाई मनपर्ने प्रेमकथामा फिल्म बनाउन सिपालु मानिने हेमराज विसीले लेखन तथा निर्देशन गरेका हुन्।

सिमोस सुनुवार र हेमराज स्वयंम निर्माता रहेको फिल्ममा निश्चल, स्वस्तिमाका अलावा सुष्मा निरौला, गौरी मल्ल, वादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारहरुको प्रम्ख भूमिका छ। फिल्म सामाजिक कमेडी कथामा निर्माण भएको बताईएको छ। निश्चल र स्वस्तिमाले जोडी भएर पहिलोपटक फिल्ममा काम गरेका कारण पनि ‘घामड शेरे’ दर्शकको प्रतिक्षामा छ। फिल्मले मल्टिप्लेक्स हलहरुमा पनि राम्रो शोज पाएको छ।

बिहीबार राजधानीमा आयोजित प्रिमियर शोमा पनि फिल्मलाई फिल्मकर्मीले प्रशंशा गरेका थिए। फिल्ममा निश्चल–स्वस्तिमा भेना र सालीको भूमिकामा प्रस्तुत छन्।

‘जीवन काँडा कि फूल’
मदन पुरस्कार विजेता साहित्यकार झमक कुमारी घिमिरेको आत्मकथामा आधारित रहेर फिल्म ‘जीवन काँडा कि फूल’ निर्माण गरिएको हो।

साहित्यकार घिमिरेले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ले २०६७ सालको मदन पुरस्कार पाएको थियो। सोही कृतिमा आधारित रहेर यो फिल्म निर्माण गरिएको हो। विनोद विष्टको निर्माण तथा निर्देशन रहेको फिल्ममा झमक जन्मिएदेखि मदन पुरस्कार पाएसम्मको दृश्य समावेश गरिएको जनाईएको छ।

झमक घिमिरेको कथा रहेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा छ। फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन्। त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारले फिल्ममा अभिनय गरेका छन्। फिल्मले पुस्तकमा जस्तै पर्दामा सामाजिक सन्देश दिने निर्माण यूनिटको अपेक्षा छ।

यद्यपी स्टारकास्ट नभएका कारण ‘जीवन काँडा कि फूल’ ले कुनै मल्टिप्लेक्समा एउटा पनि शोज पाएको छैन। झमक घिमिरेको जीवनीलाई नजिकबाट बुझ्न चाहनेका लागि यो एक महत्त्वपूर्ण फिल्म बन्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *