सेलिब्रेटीले गरे ‘घामड शेरे’को खुलेर प्रशंशा

डिसी नेपाल
२२ कार्तिक २०७६ १८:५८

काठमाडौं। आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घामड शेरे’लाई सेलिब्रेटीले प्रशंशा गरेका छन्। प्रदर्शनको पूर्वसन्ध्यामा (बिहीबार) राजधानीमा गरिएको प्रिमियरमा फिल्म हेरेपछि सेलिब्रेटीहरुले कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय, निर्देशकीय क्षमताको खुलेरै प्रशंशा गरे।

कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले फिल्ममा खोट लगाउने ठाउँ नभेटेको बताए। उनले भने, –‘फिल्म अर्गानिक छ। कहीँकतै बोर हुँदैन्। निर्देशकको काम एकदमै राम्रो देखिन्छ। कलाकारहरुको अभिनय उत्तिकै राम्रो छ। यसलाई वेष्ट फिल्म भन्छु म।’

हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)ले बाढीपिडित किसानको मर्ममाथि राम्रो फिल्म बनेको प्रतिक्रिया दिए। ‘नेपाल कृषिप्रधान देश, किसानको मर्ममाथी फिल्म बनेको रहेछ। फिल्म मर्मस्पर्शी र रमाईलो छ। कलाकारहरुको अभिनयमा खोट देखिन्। सबैले हेर्नुहुन् आग्रह गर्छु।’

त्यस्तै केदारकी श्रीमती सीतादेवी घिमिरेले फिल्म राम्रो बनेको बताइन्। ‘कतिपय सिनले भावुक समेत बनायो। फिल्म अत्यन्तै राम्रो लाग्यो।’– उनले भनिन्।

निर्देशक प्रदीप भट्टराईले पनि फिल्मको खुलेरै प्रशंशा गरे। ‘कति ठाउँमा आशुँ पनि आयो। कति ठाउँमा मज्जाले हँसायो। कन्टेन्टमाथि बनेको यो फिल्म हेरेर एकदमै मज्जा आयो’– निर्देशक भट्टराईले भने।

अभिनेता गौरव पहारीले फिल्मले उठाएको विषयवस्तु पृथक रहेको र अत्यन्तै मन परेको बताए।

अभिनेता संयम पुरीले आफू यस फिल्ममा पर्दापछाडी रहेर काम गरको बताउँदै भने, ‘फिल्म बनाउँदा मनमा जुन प्रकारको डर र उत्सुकता थियो त्यो आजबाट मेटिएको छ।’ उनले फिल्म एकदमै राम्रो बनेको र दर्शकलाई पनि मनपर्ने बताए।

अभिनेत्री आश्मा डीसीले ‘घामड शेरे’ आफूले अहिलेसम्म हेरेको फिल्ममध्ये सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिइन्। अभिनेत्री लुनिभा तुलाधरले पनि फिल्म ओभरअल राम्रो बनेको बताइन्।

हेमराज विसीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन्। फिल्ममा उनिहरु भेना र सालीको भूमिकामा छन्। एक शेरे पात्रको जीवनमा आउने उतारचढाव बोकेको फिल्म निश्चलको वरिपरी घुमेको छ।

सिमोस सुनुवार र हेमराज स्वयंम निर्माता रहेको फिल्ममा निश्चल, स्वस्तिमाका अलावा सुष्मा निरौला, गौरी मल्ल, वादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारहरुको प्रमुख भूमिका छ।

प्रिमियरमा सेलिब्रेटीहरुबाट पाएको प्रतिक्रियाबाट आफूहरु उत्साहित रहेको निर्देशक हेमराज विसी बताउँछन्। प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाबाट फिल्ममा शिर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री सुष्मा निरौला पनि खुसी देखिन्थिन्।

रिलिजपश्चात फिल्म हेरेका दर्शकले पनि ‘घामड शेरे’लाई राम्रो प्रतिक्रिया दिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *