न्यूयोर्ककमा डा. बद्री पोख्रेलद्वारा अनुवादित महापुराणहरु लोकार्पण

डिसी नेपाल
२४ कार्तिक २०७६ ११:३६

न्यूयोर्क । न्यूयोर्ककमा विश्व अध्यात्म केन्द्र तथा जयतु संस्कृतम् शाखा अमेरिकाको आयोजनामा डा. बद्री पाख्रेलद्वारा नेपालीमा अनुवादित मार्कण्डेय महापुराण, अग्नि महापुराण र वामन महापुराणको लोकार्पण भएको छ ।

गत नोभेम्बर ८ तारिख शुक्रबारका दिन पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले दीप प्रज्ज्वलन गरी शुभारम्भ गर्दै संस्कृतमा रहेको ज्ञानभण्डारलाई प्रचारप्रसार गर्न सके सबैको कल्याण हुने विचार व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि महामहिम अमृतबहादुर राईले हिन्दू धर्मसंस्कृतिलाई समयसापेक्ष सुधार गर्दै जानसके देशलाई चिनाउन सकिने बताए।

समारोहमा कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले संस्कृत सबै धर्म, जाति र समुदायको साझा सम्पत्ति हो भन्ने प्रमाणित गर्न अझै ज्ञानको विषय सरल तरिकाले उजागर गर्नुपर्ने बताए ।

यसैगरी वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले संस्कृतको विषयवस्तु मानक नेपाली भाषामा शुद्धसँग जनमानसमा ल्याउनुपर्ने बताए ।

समारोहमा कृतिकार डा. पोख्रेलले आफ्नी आमालाई महापुराणको अध्यायअनुसार सारांश सुनाउँदै जाँदा नेपाली भाषामा अनुवादित कृति तयार हुन वातावरण बनेको स्मरण गरे ।

समारोहमा अनेसास बोर्ड अफ ट्रस्टकी अध्यक्ष गीता खत्री, साहित्यकार कमला प्रसाई, अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष शकुन ज्ञवाली, कानुनविद् विनोद रोका, साहित्यकार डा. गोविन्द कोइराला, कवि डा. मधु माधुर्यलगायतका महानुभावहरुले संस्कृत भाषा एवं अध्यात्म जगतको महात्म्यका विषयमा धारणा राखेका थिए ।

जयतु संस्कृतम् अमेरिका शाखाका विष्णुप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन विश्व अध्यात्म केन्द्रका संयोजक पीपलमणि सिग्देलले गरेका थिए ।

कार्यक्रममा नेपाली मानक भाषाको संरक्षण गर्ने समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुँइटेल तथा तीन महापुराणका अनुवादक डा. पोख्रेललाई न्यूयोर्कका साहित्यकारहरूको तर्फबाट सम्मान तथा अभिनन्दन गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *