‘च च हुई’को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

डिसी नेपाल
२५ कार्तिक २०७६ १०:०२

काठमाडौं। आउँदो मंसिर ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘च च हुई’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।

फिल्मको गीत र ट्रेलर सार्वजनिक गरिसकेपछि अझै यसको क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो।

फिल्ममा आर्यन सिग्देल ‘प्रेम’ पात्रको क्यारेक्टरमा प्रस्तुत छन्। त्यस्तै भोलाराज सापकोटा ‘भोला’, मिरुना मगर ‘संगीता’ र माओत्से गुरुङ ‘श्यामलाल’ पात्रको भूमिकामा प्रस्तुत छन्। यी चारैजनाको क्यारेक्टर पोस्टर निर्माण टिमले सार्वजनिक गरेको हो।

पछिल्लो समय लभस्टोरी जनराका फिल्ममा देखिँदै आएका अभिनेता आर्यन सिग्देल रोमान्टिक कमेडी जनराको फिल्ममा देखिएका हुन्। हङकङ रिटन्र्स दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतार–चढावलाई फिल्ममा रमाईलो तरिकाले चित्रण गरिएको छ।

जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको हो। आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन्। फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ। फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ।

फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन्। व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन्। फिल्ममा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्।

फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ। यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ।

फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *