दशरथ रंगशालाको मुहार फेरिँदै (फोटोफिचर)

डिसी नेपाल
२८ कार्तिक २०७६ १२:५७

काठमाडौं । नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको रंगशालालाई २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले जीर्ण बनायो । अहिले क्षतिग्रस्त दशरथ रंगशाला पुनःनिर्माणको काम धमाधम चलिरहेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला लामो समयसम्म नबन्दा खेलकुद क्षेत्रमा ठूलो क्षति पुगेको छ । आगामी साग खेलकुदका लागि रंगशाला तयार हुने विश्वास गरिएको छ । त्यही लक्ष्यका साथ काम युद्धस्तरमा भइरहेको छ ।

रंगशाला अभावमा नेपालको फुटबल चार वर्षदेखि लथालिंग बनेको थियो । विभिन्न कारणले रंगशालाको पुनर्निमाणमा ढिलासुस्ती भए पनि अब भने अन्तिम चरणमा पुगेको बताइएको छ । नेपालमा आगामी मंसिर १५ देखि २४ गतेसम्म १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता यही रंगशालामा गर्ने तयारी छ ।

सागको उद्घाटनदेखि समापन पनि यही रंगशालामा हुने हुँदा त्यसअघि नै निर्माण सम्पन्न गर्नु पर्ने चटारो परेको हो । सागअघि मंसिर ३ गते हुने भनिएको नेपाल र कुवेत बिचको विश्पकप छनोटको घरेलु खेल रंगशाला तयार नहँुदा भुटानमा हुँदैँछ । यतिबेला रंगशालाको साधारण प्याराफिटमा सिट हाल्ने काम धमाधम भइरहेको छ भने मैदानमा दुबो उमार्ने काम पनि जारी छ । तर १३औं साग अघि नै रंगशालाको सम्पूर्ण काम सकिनेमा भने ढुक्क हुने अवस्था छैन । भीआईपीतर्फको प्याराफिटमा छाना हाल्नेदेखि साउन्ड स्टिम, लाइट र रङरोगनका कामहरु बाँकी नै छन् ।

कामदार रातदिन नभनी पुनःनिर्माणमा खटिएका छन् । मंसिरदेखि सुरु हुने दक्षिण एसियाली खेलकूद (साग) को लागि कामदारहरु रात र दिन गरी दुई सिफ्टमा काम गरिरहेका छन् । देशको अन्तर्राष्ट्रियस्तरको यही एक रंगशाला भएकाले नेपाललाई चाँडो भन्दा चाँडो दशरथ रंगशालाको पुनःनिर्माण गर्नुपर्ने भएको छ । रंगशाला लामो समयसम्म नबन्दा नेपालको खेलकुद क्षेत्रमा ठूलो क्षति पुगिसकेको छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । वि.सं. २०१३ सालमा दशरथ रंगशाला निर्माण भएको हो । रंगशाला नबन्दा नजिकिँदै गरेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) र एसियन खेलको तयारीका लागि खेलाडीलाई अभ्यास गर्न पर्याप्त खेल मैदान छैन । त्यसैले जतिसक्दो चाँडो दशरथ रंगशाला पुनःनिर्माण गरिसक्नुपर्ने बाध्यता छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सो रंगशालाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको बताउछन् । उनले भने,‘नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता र उद्घाटन सत्र सोही मैदानमा हुने भएकाले हरहालतमा हामी रंगशालाको पुनःनिर्माण निर्धारित समयमै सक्ने पक्षमा छौं,’ ।

अहिले पुनःनिर्माण गर्न लागिएको रंगशाला साधारण र भिआइपी प्यारापिट गरी १५ हजार दर्शक अट्ने क्षमताको हुनेछ । पहिलेको तुलनामा अहिले केही कम क्षमताको बन्न लागेको हो ।

दशरथ रंगशालाको इतिहास

पहिले खाली मैदान रहेको यो स्थानमा वि.सं.२०१३ सालमा रंगशाला बनाइएको हो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो । राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबलटेनिस, कुस्ती, एथ्लेटिक्स र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रंगशाला बनाउने कामको जिम्मा दिइएको थियो ।

त्यतिबेला रंगशालाको पूर्वपट्टि सेनाको छाउनी थियो । उत्तरतर्फ बाँसको झयाङ थियो भने दक्षिणतर्फ खुला थियो । पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो । रंगशालाको पहिलो संरचना त्यहीबेला बनेको हो ।

राखेप सदस्यसचिवका रुपमा वि.सं. २०३४ मा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्रा्ष्ट्रियस्तरको बनाउने निर्णय भयो । वि.सं २०३५ मा शुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भयो । रंगशालाको अहिलेको स्वरूप २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो ।

रंगशाला काण्ड

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच प्रतिस्पर्धा भइरहेको थियो । वि.सं. २०४४ फागुन २९ गतेको त्यो दिन अचानक हावाहुरीसहितको वर्षा हुँदा रंगशालामा भागदौड मच्चियो र ७१ खेलप्रेमीले ज्यान गुमाए । सोही घटनामा नैतिक जिम्मेवारी स्वीकार्दै तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिए । यो घटनालाई नेपाली खेलकूदको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ ।

खेल क्षेत्रलाई माथि उठाउने उद्देश्यका साथ सरकारको नीति तथा कार्यक्रममा यसपटक सातै प्रदेशमा रंगशाला बनाउने योजना पारिएको छ । यसवर्ष प्रदेश नं २, ६ र ७ गरी तीन ठाउँमा रंगशाला बनाउने योजना रहेको राखेपले जनाएको छ । यसका लागि सरकारले रु सात करोड ५० लाख छुट्याएको छ ।

रंगशाला निर्माणका लागि सरकारले यसअघि कायम भएका ७५ मध्ये ७३ जिल्लामा जग्गा छुट्याएको भएपनि अधिकांश जिल्लामा रंगशाला निर्माण प्रक्रिया शुरु पनि हुन सकेको छैन । राखेपका अनुसार अहिलेसम्म मुगु र रौतहटमा खेल मैदान बनाउन जग्गाको जोहो गर्न सकिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *