कपिलबस्तुबाट बरामद गरिएका हतियार आफ्नो नभएको विप्लव समूहको दाबी

डिसी नेपाल
१ मंसिर २०७६ १०:१०

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कपिलबस्तुको शिवनगर सीमा क्षेत्रबाट फेला पारिएको हतियार आफ्नो नभएको दाबी गरेको छ। विप्लव समूहको राप्ती व्यूरो इन्चार्ज समरले आइतबार विहान विज्ञप्ति जारी गरी प्रहरीले फेला पारेको भनिएका हतियार आफ्नो नभएको दाबी गरेका हुन्।

‘कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बदामद गरिएको भनी गराइएको भ्रमपूर्ण, कलोकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विप्लव समूह राप्ती व्यूरो इन्चार्ज समरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपामाथि दमन गर्ने सरकारी षड्यन्त्रअनुरुप त्यसको प्रकारको नियोजित प्रचार गराइएको र त्यस प्रकारका षड्यन्त्र नगर्न चेतावनी दिन चाहन्छौं।’

उनले नेकपामाथि दमन गर्ने योजना अनुरुप प्रहरी आफैंले उक्त हतियार राखेर भ्रमपूर्ण प्रचार गराएको दाबीसमेत गरेका छन्।
शनिबार प्रहरीले कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले लुकाइछिपाइ राखेको ठूलो परिणामको अत्याधुनिक हतियार प्रहरीले बरामद गरेको जनाएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगरको सीमा क्षेत्रमा रहेका खाली गोठमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान अत्याधुनिक सर्ट मेसिन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त राइफलमा प्रयोग हुने ३९० थान गोली बरामद गरेको प्रहरीले जनाएको थियो।

प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष सूचनाको आधारमा प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले शुक्रबार बेलुकी करिब ६ बजे शिवनगर–१ मा रहेको खाली गोठबाट रातो सुटकेसमा राखिएका उक्त हातहतियार बरामद गरेको जनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *