कसरी खिचियो दश लाखमा एउटा भेटिने दुर्लभ मृगको तस्बिर?

डिसी नेपाल
१ मंसिर २०७६ १०:१२

बीबीसी । गत सोमवार आफ्नो घरबाट क्यामेरा बोकेर निस्कदा अवकाशप्राप्त अमेरिकी विधायक स्टिभ लिन्डवर्गले आफ्नो फेसबुक पृष्ठको लागि वन्यजन्तुका केही तस्बिर खिच्ने आशा गरेका थिए।

अमेरिकाको मिसिगनका बासिन्दा उनले सन् २०१२ यता दैनिकजसो एउटा वन्यजन्तुको फोटो फेसबुकमा राख्ने गरेका छन्। चिसो मौसममा धेरै जनावरहरू न्यानो ठाउँतर्फ जाने हुँदा उनी त्यस दिन खासै आशावादी थिएनन्। त्यसलै हिउँमा माछा खाइरहेको एउटा ओंत देखेपछि उनी दङ्ग परे।

‘मलाई लाग्यो मैले त्यस दिनको लागि फोटो भेट्टाएँ,’ ७५ वर्षीय लिन्डवर्गले बीबीसीलाई भने। तर जब फर्कनका लागि तयारी गरिरहँदा उनले एउटा बाह्रसिङे मृग देखे।

‘मसँग सेतो पुच्छर भएको मृगका हजारौँ तस्बिर छन् तर मैले तत्कालै त्यो मृग फरक भएको थाहा पाएँ‘ उसको टाउकोको सिङमा केही भिन्नता थियो,’ उनले भने।

घर पुगेर कम्प्युटरमा ती तस्बिर राखेपछि भने उनले केही फरक देखे। ‘केहीबेर घोरिएर हेर्दा त त्यसका सिङ तीनवटा देखिए। जुन यसअघि मैले कहिल्यै देखेको थिइनँ।’

उनले एक सय जति लाइक र केही प्रतिक्रिया अपेक्षा गरेका त्यस तस्बिरलाई मानिसहरूले निकै रुचि दिए। पशुविज्ञ स्टिभ एडवार्ड्सले डेट्रोइट फ्री प्रेसलाई भने अनुसार त्यो मृग दशौँ लाखमा एउटा भेटिने खालको हो।

लिन्डवर्गका तस्बिरमा राम्रा प्रतिक्रिया मात्र आउँदैनन्। उनलाई धेरैले तस्बिर सम्पादन गरेको आरोप पनि लगाए। त्यसलाई नकार्न उनले उक्त बाह्रसिङेका अन्य तस्बिरहरू पनि राखेका छन्।

उनले भनेः ‘आजकल मैले त मानिसहरूले के लेखिरहेका छन् भनेर हेर्न छाडिसकेँ‘ मलाई यतिसम्म भनियो त्यो मृग कहाँ छ भन्ने जानकारी चाहियो, म त्यसलाई मार्न चाहन्छु।’

कुनैबेला शिकार गर्ने लिन्डवर्गले अहिले भने शिकार गर्न छाडेका छन्। उक्त मृगको सुरक्षाका लागि उनले त्यो देखिएको ठाउँ समेत गोप्य राखेका छन्। उनी दोस्रो दिन त्यस ठाउँमा पुग्दा त्यो मृग त्यहीँ थियो। तर त्यसपछि भने नदेखेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *