फिल्म ‘शुभ लभ’ युरोप प्रदर्शनमा लगिँदै

डिसी नेपाल
३ मंसिर २०७६ १४:३३

काठमाडौं। बुद्ध ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘शुभ लभ’ यही नोभम्बर अन्तिममा अल युरोप प्रदर्शनमा लगिने भएको छ।

आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभरि युरोपभरि प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जानकारी दिए।

नेपालमा मध्यम ब्यापार गरेको उक्त फिल्मको युरोप प्रदर्शन राम्रो हुने लोहनीको विश्वास छ। युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन कृस्टिन पौडेलको मुख्य अभिनय रहेको फिल्ममा पूराना कलाकारहरु रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे, सरोज खनाल, स्टेजका चर्चित कलाकार राजा राजेन्द्र, राजा राजेन्द्र, डा. सूर्या थापा लगायतको भूमिका छ। हरिहर र कृष्टिनको यो डेब्यू फिल्म हो।

फिल्मका लाईन प्रोड्युसर प्रकाश कडरिया युरोप निवासी भएकोले युरोपमा फिल्मको राम्रो प्रदर्शन हुने निर्माण पक्षले अपेक्षा लिएको छ। लोहनीले भने, ‘हाम्रो फिल्मको लाईन प्रोड्युसर नै युरोपनिवासी हुनुहुन्छ। युरोपमा गैरआवासी नेपाली र ईनासको बाक्लो उपस्थिति छ, त्यसैले युरोप शो राम्रो हुने हाम्रो विश्वास छ।’

नेपालमा पनि राम्रो व्यापार गर्ने अपेक्षा हुँदाहुँदै पनि रिलिज मिति राम्रो नहुँदा र चलचित्रकर्मीहरुबीच नै अस्वस्थ प्रतिष्पर्धा हुँदा अपेक्षित व्यापार गर्न नसकिएको लोहनीको गुनासो छ। यद्यपी उनले उक्त फिल्म हेर्ने दर्शकहरुले राम्रो बनेको भनेर सुखद् प्रतिक्रिया दिएको सुनाए।

अर्जुन पोखरेलको शब्द तथा संगीत र निशान भट्टराईको स्वर रहेको फिल्मको टाईटल गीत ‘तिमी हुन्छौं भने मेरो शुभलभ’ रुचाईएको थियो। फिल्ममा अभिमन्यू निरवीको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, अनुपम शाहको भिएफएक्स, ब्याकग्राउण्ड म्युजिक दिनेश सुनामको र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

धर्मराज शर्मा सुवेदी निर्माता रहेको फिल्मको छायांकन नेपालका हिमाल, पहाड र तराईका प्रायः रमणीय ठाउँहरुमा गरिएको थियो। फिल्मको युरोप टुरसँगै नेपालको भिजिट नेपाल–२०२० को प्रचारप्रसार गर्नेपनि आफूहरुको उद्देश्य रहेको लोहनीले बताए।

लोहनी यही नोभेम्बर २७ तारिख युरोप टुरमा जाँदैछन्। युरोप टुर सकिएलगत्तै अष्ट्रेलिया, कोरिया, जापान, हङकङ र गल्फ राष्ट्रमा जाने तयारी रहेको लोहनीले जनाए। फिल्मको प्रस्तुतकर्ता प्रदीप उदय हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *