समाजसेवामा रोटरी इन्टरनेशनलको भूमिका महत्वपूर्ण : मन्त्री ज्ञवाली

डिसी नेपाल
३ मंसिर २०७६ २३:३१

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजसेवामा रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले आज यहाँ आयोजना गरेको कुटनीतिक नियोगका प्रमुखको छलफलमा उनले रोटरी इन्टरनेशनलले सरकार र निजी क्षेत्रको आँखा नपुगेको ठाउँमा सामाजिक संस्थाको रुपमा काम गरेको उल्लेख गरे ।

‘विद्यालय, अस्पताल, भूकम्पपछिको पुनःनिर्माण, ब्लड बैंक स्थापनालगायत क्षेत्रमा काम गरेको छ,’ उनले भने । रोटरी इन्टरनेशनललाई नेपालमा काम गर्ने वातावरण सरकारले तयार गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो । विभिन्न देशका राजदूत स्वयं रोटरीमा आवद्ध भएका कारण पनि रोटरीमार्फत राजदूतावासबाट नेपालमा धेरै काम भएको उहाँले उल्लेख गरे ।

डिस्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले नेपालको विकासका लागि रोटरी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले रोटरी इन्टरनेशनलले भूकम्पले क्षति पुर्याएको २७ विद्यालय पुनःनिर्माण गरेको बताए ।

नेपाल सरकारका पूर्वमुख्यसचिव रोटरीयन तीर्थमान शाक्यले विश्वभर ३५ हजार ८९३ क्लबमा झण्डै १२ लाख रोटरीयन आवद्ध रहेको उल्लेख गरे ।

रोटरी इन्टरनेशनलले ट्राफिक जनचेतना, सडक सुरक्षा, बालबालिकाको स्वास्थ्यलगायतका क्षेत्रमा समेत काम गरेको उनको भनाइ छ । नेपाल सरकारका पूर्वसचिव रोटरीयन केदारभक्त श्रेष्ठले रोटरी इन्टरनेशनलले दिगो विकासको लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

नेपालमा सन् १९५९ देखि रोटरी इन्टरनेशनलले शाखा स्थापना गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *