नेपालको बहुमूल्य प्राचीन मूर्ति अमेरिकाको संग्रहालयमा !

डिसी नेपाल
४ मंसिर २०७६ १६:४०

काठमाडौं। नेपालबाट चोरी भएका बहुमूल्य प्राचीन मूर्तिहरु अमेरिकाका फरक फरक संग्रहालयमा प्रदर्शनमा राखिएका छन् । यीमध्ये केही मूर्ति नेपाल फर्काइएको भए पनि केही भने त्यहीँ छन् । न्यूयोर्कको एक संग्रहालयमा राखिएका दुई मूर्तिहरु नेपाल फिर्ता ल्याइएका थिए । न्यूयोर्क सिटीको महानगरीय कला संग्रहालयमा राखिएका उमा महेश्वर र भगवान बुद्धको मूर्ति नेपाल ल्याइएका थिए ।

तर, १३ औं शताब्दीमा बनेको लक्ष्मी नारायणको एक मूर्ति भने अझै अमेरिकामै छ । काठमाडौं दरबार स्क्वायर नजिकै पात्को टोलमा रहेको नारायण मन्दिरबाट चोरी भएको यो मूर्ति अमेरिकाको टेक्सास राज्यको ड्यालस कला संग्रहालयमा रहेको अमेरिकाकी कला अपराध विषयकी प्राध्यापक एरिन एल थम्पसनले आफ्नो ट्वीटमा उल्लेख गरेकी छिन् । उनले यो मूर्ति १९८४ मा नेपालबाट चोरी भएको र १९९० मा संग्रहालयले लिलाम बढाबढमा किनेको उल्लेख गरेकी छिन् ।

पाटनको टंगालहिटीमा रहेको उमा महेश्वरको मूर्ति १२ औं र १३ औं शताब्दीको बीचमा निर्माण भएको विश्वास गरिन्छ । भगवान बुद्धको मूर्ति ११ औं देखि १२ औं शताब्दीको बीचमा निर्माण भएको मानिन्छ । यी दुवै मूर्तिहरु १९८० को दशकमा चोरी भएका थिए ।

कलाका ज्ञाता लैनसिंह बाङदेलले आफ्नो पुस्तकमा उमा महेश्वरको मूर्ति सन् १९८३ मा यो संग्रहालयलाई दिइएको उल्लेख गरेका छन् । भगवान बुद्धको मूर्ति सन् २०१५ मा एक दाताले संग्रहालयलाई दिएका थिए । यी दुवै मूर्तिहरु चोरी भएको थाहा भएपछि संग्रहालयले दुवैलाई प्रदर्शनीबाट हटाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *