टी–१०ः सुपर लिगको खेल सकियो, यस्तो छ प्लेअफ समिकरण

डिसी नेपाल
७ मंसिर २०७६ ८:३०

काठमाडौं । यूएईमा जारी क्रिकेटको सबैभन्दा छोटो प्रारुप टी टेन लिगको तेस्रो संस्करणअन्तर्गत सुपर लिगको खेल सकिएको छ। शुक्रबार टिम आबु धाबी र कर्नाटाका टस्कर्सबिच अन्तिम खेल भएपछि सुपरलिगका खेल सकिएको हो।

सुरुमा समूह चरणमा खेलाइएको खेल दोस्रो चरणमा सुपरलिगअन्तर्गत खेलाइएको थियो। समूह चरणमा तीन खेल र सुपरलिगमा तीन खेल गरि एक टिमले जम्मा ६ खेल खेलेका थिए। जसबाट शिर्ष चारमा रहेका टिम प्लेअफमा प्रवेश गरेका छन्। प्लेअफमा प्रवेश गर्ने टिममा मराठा अरेबियन्स, कलन्दर्स, डेकन ग्लाडियटर्स र बंगला टाईगर्स रहेका छन्। जसमध्ये मराठाले लिगको शिर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो।

मराठाले ६ खेलमध्ये ४ खेलमा जित निकाल्दै ९ अंक जोड्यो। मराठाको एक खेल वर्षाको कारण स्थगित भएर कर्नाटकासंग अंक बाँडेको थियो भने एक खेलमा पराजित भएको थियो। यस्तै कलन्दर्स, ग्लाडियटर्स र बंगला टाईगर्स ६ खेलमा समान ७ अंक जोडेर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाए।

प्लेअफअन्तर्गत आज तीन खेल हँुदैछन्। जसमा क्वालिफायर्समा मराठा र कलन्दर्स भिड्दैछन्। यो खेलको विजेता सिधै फाईनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो ईलिमिनेटर खेल्नेछ। उक्त खेल आज नेपाली समयअनुसार साँझ सवा ५ देखि सुरु हुनेछ।

त्यसैगरि साँझ ७ः३० बजे ग्लाडियटर्स र बंगला टाईगर्सबिच पहिलो इलिमिनेटर खेल हुनेछ। जसको विजेताले दोस्रो ईलिमिनेटर खेल्नेछ। दोस्रो ईलिमिनेटर खेल क्वालिफायर्सको पराजित टिम र पहिलो ईलिमिनेटरको विजेता टिमबिच हुनेछ। उक्त खेलमा विजेता हुने टिमले फाईनलमा प्रवेश गर्नेछ। खेल नेपाली समयअनुसार आज पौने दश बजे हुनेछ।

ईलिमिनेटरमा पराजित दुवै टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै क्वालिफायर्स विजेता र दोस्रो ईलिमिनेटर विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। यी दुवै खेल आईतबार हुनेछन्।

क्रिकेटको सबैभन्दा छोटो प्रारुप टी–१० सन् २०१७ देखि सुरु भएको थियो। २०१७ को पहिलो संस्करणको विजेता केरला किंग्स रहेको थियो। यस्तै सन २०१८मा भएको दोस्रो संस्करणको विजेता नर्दर्न वारियर्स रहेको थियो। अहिले भने वारियर्स बाहिरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *