विराट कोहलीले २७ औं टेस्ट शतक हान्दै बनाए कैयौं रेकर्ड

डिसी नेपाल
७ मंसिर २०७६ १६:११

काठमाडौं। कोलकाताको इडन गार्डेन मैदानमा जारी डे नाइट टेस्टमा भारतीय कप्तान विराट कोहलीले शतक हान्दै कैयौं रेकर्ड आफ्नो नाममा बनाएका छन् । ३१ वर्षका कोहली भारतको लागि डे–नाइट टेस्टमा शतक बनाउने पहिलो भारतीय बनेका छन् । यसअघि भारतको लागि टेस्टमा लाला अमरनाथले १९३३ मा, एकदिवसीयमा कपिल देवले १९८३ मा, डे–नाइट एकदिवसीयमा संजय मांजरेकरले १९९१ मा, टि–२० अन्तर्राष्ट्रियमा सुरेश रैनाले २०१० मा र नाइट टि–२० अन्तर्राष्ट्रियमा रोहित शर्माले २०१५ मा पहिलो शतक बनाएका थिए ।

यो शतकसँगै कोहलीले कप्तानको रुपमा सबैभन्दा धेरै शतकको सूचीमा अस्ट्रेलियाका महान क्रिकेटर रिकी पोन्टिङलाई उछिनेका छन् । कप्तानको रुपमा यो कोहलीको २० औं शतक हो । रिकी पोन्टिङले कप्तानको रुपमा १९ शतक लगाएका थिए । कप्तानको रुपमा धेरै टेस्ट शतक हान्ने सूचीमा कोहलीभन्दा अगाडि अब दक्षिण अफ्रिकी पूर्वकप्तान ग्रीम स्मिथ मात्र छन् । स्मिथले कप्तानको रुपमा २५ टेस्ट शतक हानेका छन् ।

कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीको सूचीमा पनि तेस्रो स्थानमा छन् । उनीभन्दा अगाडि अब अस्ट्रेलियाका महान क्रिकेटर रिकी पोन्टिङ र क्रिकेटका भगवान सचिन तेन्दुलकर मात्र छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक हानेका किर्तिमानी खेलाडी सचिन तेन्दुलकरले ७८२ इनिङमा १०० अन्तर्राष्ट्रिय शतक हानेका छन् । रिकी पोन्टिङले ६६८ इनिङमा ७१ शतक हानेका छन् भने कोहलीले ४३८ इनिङमा ७० शतक बनाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *