न्यूजिल्याण्डविरुद्ध निरीह इङल्याण्ड

डिसी नेपाल
८ मंसिर २०७६ १३:२२

काठमाडौं। न्यूजिल्याण्डविरुद्ध जारी टेस्ट सिरिजको पहिलो टेस्टको चौथो दिन इङल्याण्ड न्यूजिल्याण्डको अगाडि निरीह अवस्थामा पुगेको छ । चौथो दिनको खेल सकिँदासम्म इङल्याण्डले आफ्नो दोस्रो इनिङ सुरु गरेर ३ विकेटको क्षतिमा ५५ रन बनाएको छ र न्यूजिल्याण्डले पहिलो इनिङमा बनाएको स्कोरभन्दा अझै २०७ रनले पछि छ ।

टस जितेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पहिलो इनिङमा ३५३ रन बनाएको थियो । इङल्याण्डका लागि बेन स्टोक्सले ९१, जो डेन्लीले ७४, रोरी बर्नसले ५२, जोस बटलरले ४३, ओली पोपले २९ रन बनाए । न्यूजिल्याण्डको लागि टिम साउदीले ४, निल वाग्नरले ३, कोलिन डि ग्राण्डहोमले २ र ट्रेन्ट बोल्टले १ विकेट लिए ।

न्यूजिल्याण्डले आफ्नो पहिलो इनिङमा ६१५ रन बनाएर इङल्याण्डविरुद्ध २६२ रनको अग्रता बनाउँदै इनिङ डिक्लेयर गर्यो । न्यूजिल्याण्डका लागि ब्राडली वट्लिङले दोहोरो शतक हान्दै २०५ रन बनाए । मिचेल सान्टनरले १२६, कोलिन डि ग्राण्डहोमले ६५, केन विलियमसनले ५१, हेनरी निकोलसले ४१ रन बनाए । इङल्याण्डका लागि साम कुर्रानले ३, ज्याक लीच र बेन स्टोक्सले २–२, जोफ्रा आर्चर र जो रुटले १–१ रन बनाए ।

न्यूजिल्याण्डको पहिलो इनिङबाटै २६२ रनले पछि परेको इङल्याण्डले ५५ रन बनाउँदा नै ३ विकेट गुमाइसकेको छ । रोरी बर्नस ३१, डम सिब्ले १२ र ज्याक लीच शुन्य रनमा आउट भइसकेका छन् । तीनवटै विकेट मिचेल सान्टनरले लिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *