जुम्लाको लाम्रीमा ५८ किलोवाट विद्युत् उत्पादन, गाउँ झिलिमिलि

डिसी नेपाल
१० मंसिर २०७६ ११:३३

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ ।

स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि बिजुली बल्न थालेको हो।

बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ । यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए ।

“एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ”, अध्यक्ष बुढाले भने ।

आयोजना आर्थिक वर्ष २०७१/७२ देखि निर्माण शुरु भएको थियो ।

साढे दुई वर्षमा सक्ने लक्ष्य राखिए पनि बजेट अभावले ढिलाइ भएको अध्यक्ष बुढाले बताए ।

आयोजना कात्तिकमा निर्माण सम्पन्न भएको हो।

आयोजनामा रु तीन करोड लाग्ने अनुमान गरिएको थियो ।

उपभोक्ता समितिले बजेट जुटाउनु परेकाले ढिलाइ भएको जनाएको छ।

“उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको छ”, अध्यक्ष बुढाले भने ।

तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाखमा काम शुरु गरिएको थियो ।

त्यसपछि सांसद विकास कोषको रु ३० लाख, सूर्य सामाजिक सेवा सङ्घको रु २० लाख र पातारासी गाउँपालिकाको रु ७५ लाख लागेको छ।

सो आयोजनाबाट तिर्खु, लाम्री, डिल्लीचौर र जम्नगाउँमा बिजुली आपूर्ति हुनेछ । चारै गाउँका करीब ५०० परिवार लाभान्वित हुनेछन्।

पाँच हजार रोपनीमा सिँचाइ

विद्युत्सँगै आयोजनाबाट सिँचाइ पनि हुने भएको छ । यसबाट पाँच हजार रोपनीमा सिँचाइ हुने उपभोक्ता समितिले जनाएको छ।

सिँचाइ पनि हुने भएकाले तरकारी खेती गर्न सजिलो भएको स्थानीयवासी वीरबहादुर बोहराले बताए ।

“तरकारी उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्न सजिलो हुनेछ”, उनले भने ।

स्थानीय बासिन्दाले मार्सी धान रोप्ने गरे पनि सिँचाइको सुविधा नहुँदा रोग लाग्ने र लगानीअनुसार उत्पादन हुने गरेको थिएन।

अब खेतीपाती गर्न सजिलो हुने स्थानीय बासिन्दाको विश्वास छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *