सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान दिँदैन : अर्थमन्त्री खतिवडा

डिसी नेपाल
११ मंसिर २०७६ १७:१६

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताएका छन् ।

सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारिता नभएको बताएका हुन् ।

उनले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिँदा कुनै उपलब्धि नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने बताए । त्यसका लागि सरकारले अनुदान सम्बन्धि नीतिमा पुनरावलोकन गर्न लागेको समेत जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले युवालाई स्वरोजगार बनाउन बैंक मार्फत ब्याज अनुदानमा कर्जा उपलब्ध गराइएको उल्लेख गर्दै त्यसको सही सदुपयोग गर्न समेत आग्रह गरे । प्रकृया पुगेपछि पनि बैंहरुले कर्जा नदिए त्यसको उजुरी अर्थमन्त्रालयमा गर्न उनको आग्रह थियो ।

कार्यक्रममा बैंकहरुले सरकारले कर्जाको सुरक्षा हुनेगरी व्यवस्था गरे सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन कुनै समस्या नरहेको बताएका छन् । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवाहरुलाई सहुलियत पूर्ण कर्जा समयमै तिरी असल ऋणी र उद्यमी बन्न प्रेरित गर्न सकेमात्र यस्तो कर्जाको प्रभावकारिता बढ्ने बताए ।

यसअघि सरकारले विभिन्न ७ शीर्षकका कर्जामा ५ देखि ६ प्रतिशतसम्म अनुदान दिने व्यवास्था गरेको थियो । तर सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (कार्यविधि, २०७६) को दोश्रो संशोधनमा थप २ शीर्षक कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिने तालिमका लागि समेत सहुलियत ब्याज अनुदानमा कर्जा दिने व्यवास्था गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *