पर्वतकै ठूलो लिफ्ट खानेपानी आयोजनाको परीक्षण शुरु

डिसी नेपाल
१२ मंसिर २०७६ ९:०६

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ।

आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परीक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए ।

“कालीगण्डकी किनारबाट रिजर्भ ट्याङ्कीसम्म पानी तान्ने उपकरणको परीक्षण सफल भयो”, उनले भने, “मङ्गलबारदेखि वितरण र शाखा पाइपलाइनको परीक्षण शुरु गरेका छौँ”, बगरफाँट क्षेत्रको मुख्य र वितरण पाइपलाइनको परीक्षण सकिएको छ।

पानी थिग्राउने पोखरी, वरीबेनी र लामाखेतको वितरण लाइन परीक्षण सफल भएपछि नियमित खानेपानी वितरण शुरु गरिनेछ।

कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्प जडान गरिएको छ।

जुगेधाराको पानी १५० मिटर उचाइमा रहेको ट्याङ्कीमा विद्युतीय उपकरण प्रयोग गरेर पुर्याइएको छ। मुहानदेखि ट्याङ्कीसम्मको दूरी ७५० मिटर छ। मुहानमा पानी तान्ने सम्पवयल पम्प, पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण भएको छ।

चार लाख लिटर क्षमताको फेरो ट्याङ्की, दुई वटा पानी छान्ने र थिग्राउने पोखरी, कार्यालय भवन, मुख्य पाइपलाइन निर्माण गरिएको छ।

१५ किलोमिटर मुख्य पाइप लाइन निर्माण भएको छ । पम्प, ट्याङ्की, भवन, पोखरी र मुख्य पाइप लाइन निर्माणका लागि चन्द्र एण्ड वसन्त एएम जेभीले रु १० करोड ३० लाखमा ठेक्का लिएको थियो।

उपभोक्ता समितिसँग वितरण पाइप लाइनसहितको पूर्वाधार बनाउन रु दुई करोड १२ लाखमा सम्झौता भएको थियो।

सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानीमा विसं २०७४ कात्तिकदेखि खानेपानी डिभिजन कार्यालयले आयोजना निर्माण शुरु गरेको थियो।

आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नं वडामा पर्ने बगरफाँट, वारीबेनी र लामाखेतका ९५५ घरधुरी लाभान्वित हुने अध्यक्ष रेग्मीले बताए ।

प्रत्येक घरमा मिटरसहितको निजी धारा निर्माण भएको छ । घर–घरमा निजी धारामार्फत खानेपानी वितरण गर्ने व्यवस्था मिलाएको कोषाध्यक्ष बरुवालले बताए । सङ्घीय सरकारमार्फत सञ्चालित यो आयोजना धवलागिरि क्षेत्रकै ठूलो हो।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत आयोजना निर्माण भएको हो।

उपभोक्ताले पहिलो चरणमा प्रतिघर रु १५ हजारका दरले नगद सङ्कलन गरेका थिए । अहिले बढाएर प्रतिघर रु २० हजार कायम गरिएको छ।

जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट र लामाखेतमा तीव्ररूपमा बस्ती विस्तार भएको छ । बस्तीमाथि खानेपानीको स्रोत नभएकाले लिफ्ट प्रविधि अपनाइएको हो। सो क्षेत्रमा खानेपानीको हाहाकार थियो।

उक्त क्षेत्रका बासिन्दाले अहिलेसम्म मुहानमा व्यक्तिगत लगानीमा पाइप जोडेर घरमा पानी ल्याउने गरेका थिए । थोरै पानीको स्रोत तर माग धेरै भएपछि समस्या भएको थियो।

आलोपालो लगाएर पानी आपूर्ति गराउँदै आएका थिए। पानीका कारण विवाद र सामाजिक द्वन्द्व हुने अवस्था अब अन्त्य भएको जलजला वडा नं ३ का अध्यक्ष रवि भण्डारीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *