‘सरौतो’सहित तीन नेपाली फिल्म हल प्रवेश

डिसी नेपाल
१३ मंसिर २०७६ ८:१४

काठमाडौं। तिहारयता नेपाली फिल्मको ब्यापार सुस्ताएको छ। आशा गरिएका फिल्मले समेत गतिलो ब्यापार गरिरहेका छैनन्। सोलो प्रदर्शनमा आएको नेपाली फिल्मको ब्यापार समेत उकेदलाग्दो देखिन्छ।

यस्तैमा शुक्रबारदेखि दर्शक तान्ने अपेक्षासहित फिल्म ‘सरौतो’ले प्रदर्शन आरम्भ गरेको छ। पटक–पटकको प्रदर्शन मिति हेरेफेरपश्चात प्रदर्शनमा आएको फिल्मलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।

‘सरौतो’ छायांकारका रुपमा सुपरिचित हरि हुँमागाईको निर्देशकीय डेब्यू फिल्म हो। एक्सन–लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा सुमी मोक्तान शिर्ष भूमिकामा छिन्।

फिल्मका लागि सुमीले २ बर्ष मार्शल आर्टको तालिम लिएकी थिइन्। त्यस्तै ७ महिना सांकेतिक भाषाको तालिम लिएकी थिइन्। त्यसैले यो फिल्मप्रति धेरैले चासो लिएका छन्।

यो फिल्ममा सुमीसंगै विजय बराल, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, सम्पदा दाहाल, अरुणा कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा फिल्म निर्माण भएको हो। राघव कृष्ण गौतमको लेखन रहेको फिल्मले बदलाको कथा भन्छ। फिल्ममा उत्तम हुमागाईंको छायांकन, शंकर महर्जनको एक्सन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।

‘सरौतो’संगै आजदेखि ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएका छन्।

‘लभ यू हमेशा’ त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो। फिल्मलाई भाष्कर प्रधानले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा यशराज गराच, फिजा योञ्जन, ऋचा थापा, शिशिर राणा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ।

त्यस्तै ‘मखमली मखमली’ राजु गिरीको निर्देशनमा बनेको हो। सावित्रा चिलुवालले निर्माण रहेको फिल्मलाई नारी प्रधान भनिएको छ। फिल्ममा जयकिशन बस्नेत, शुभेच्छा थापा, शारदा गिरी, सविन वास्तोला, परि तामाङ्ग, सरोज दाहाल लगायतका कलाकारहरुको अभिनय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *