आस्था राउतले सार्वजनिक गरिन् एल्बम ‘आधार भाग २’

डिसी नेपाल
१३ मंसिर २०७६ १४:२५

काठमाडौं। गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु तथा लोकगायक हरिबहादुर राउत र आमा सावित्री राउतलगायतले एल्बम सार्वजनिक गरे।

कार्यक्रममा हास्य कलाकार हरिवंशले आस्थासँग आफूले फिल्म ‘छक्का पन्जा २’ गीत ‘झ्याम्म झ्याम्म…’ मा सहकार्य गर्न पाएको सम्झिँदै आस्थाको स्वर भिन्न रहेको दाबी गरे। ‘कसैको गीत सुनिरहँदा एउटै किसिम लाग्छ किनभने त्यस्तै स्वर अन्य गायकगायिकाको पनि हुन्छ,’ हरिवंशले भने, ‘तर आस्थाको स्वर अन्यमा पाइँदैन। परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ ।’

त्यस्तै कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा प्रगति गरेको बताए। ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाइन्छ,’ –उनले भने। आस्थाका बुबा हरिबहादुर कुनै बेला रेडियो नेपालमा लोकगीत गाउँथे भने आमा सावित्री गीतकार हुन्।

संगीतकार सुरेश अधिकारीले आस्था जस्तोसुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए।

एल्बममा समेटिएको ‘को छ यहाँ’ बोलको गीतमा आस्थाकी आमा सावित्री राउतको शब्द रहेको छ। बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ। धार्मिक, संस्कृति, राष्ट्र भाव र रमाइलो गर्ने मुडका ७ वटा गीत समावेश रहेको राउतले बताइन्।

लोक शैलीमा आधारित रहेको ‘नाकैमा फुली…’, गीतमा २०४० सालमा नै माधव केसीको संकलनमा उनका बाबु गायक राउतले गाएको ‘पानी खाने कलधारा कलको…’ गीतको अंशलाई समावेश गरिएको छ। ‘झलझल गर्ने कम्पनी माला…’, ‘राम साइली…’ बोलको गीतलाई पप फ्लेभरमा सुन्न सकिन्छ। त्यस्तै अर्को ‘सिमाना…’, ‘को छ यहाँ…’ गीतहरू राष्ट्रिय भावनाले भरिएका छन् । एल्बममा नै समावेश ‘हवाईजहाजको टिकट…’ गीतमा भावुकता मिसिएको छ भने ‘दसैं आयो तिहार आयो…’मा पर्व र संस्कृतिलाई समेटिएको छ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। सान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्काले अभिनय गरेका छन्। हाल टेलिभिजन गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’ सिजन २ को एक निर्णायकसमेत रहेकी आस्थाको पहिलो एल्बम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी बाँध्य छैन भन्दैमा…’ चर्चित गीत छन्।

रिमिक्स गीत ‘सालको पात टपरी गाँसेर…’ बाट उनको करिअर सुरु भएको थियो। गायिका राउतले आफू फलभन्दा पनि कर्ममा विश्वास राख्ने भएकाले संख्यात्मकभन्दा गुणात्मक गीत पस्किन सजक रहेको खुलाइन्। दुई/तीन वर्षको अथक प्रयासपछि आएको आफ्ना नयाँ गीतहरूले मुलुकको मौलिक संस्कृति प्रवर्द्धनमा सघाउने उनले विश्वास व्यक्त गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *