बागलुङमा आठ उम्मेदवारको जमानत जफत

डिसी नेपाल
१८ मंसिर २०७६ २१:३४

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ उम्मेदवारको जमानत जफत भएको छ ।

यस क्षेत्रको उपचुनावमा १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त वाम गठबन्धनका उम्मेदवार खिमबिक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनबाहेक अरु सबै उम्मेदवारको जमानत जफत भएको हो ।

जमानत जोगाउनका लागि सदर मतको १० प्रतिशत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । कूल ३५ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो जसमध्ये २० हजार ९७१ मत सदर भएको छ । उपनिर्वाचनमा ४२५ मत भने बदर भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए ।

जमानत जफत भएका आठै जनाकोभन्दा बदर मत बढी देखिएको छ । उपनिर्वाचनमा कूल सदर मतको जमानत जोगाउन कम्तीमा दुई हजार ९८ मत ल्याउनुपर्ने थियो । तर आठ उम्मेदवारमध्ये एक जनाले मात्र सय कटाएका छन् । अरु सबै दोहोरो अङ्कमा सीमित भएका छन् ।

राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । बागलुङ–२ (ख) मा प्राप्त मतको आधारमा तेस्रो स्थानमा रहेका समाजवादीका उम्मेदवार अशोककुमार विकले जम्मा ३१६ मत प्राप्त गरेका थिए ।

नेकपाबाट बागी उठेर अन्ततः सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई जिताउन लागेका शेरमान घर्तीले ९५ मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् । जमानत जोगाएका विजयी उम्मेदवार शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत मात्र प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *