संगीतमा राष्ट्रवादी उभार

डिसी नेपाल
२१ मंसिर २०७६ ११:३७

काठमाडौं । ‘सुस्ता हाम्रै हो ए बैनी सुस्ता हाम्रै हो’
‘कालापानी लिम्पियाधुरा, टिंकर पोखरी बनबासा हिले त्यो पनि हाम्रै हो’

सात बर्ष पहिला युट्युुवमा राखिएको यो गीत अहिले पनि त्यतिकै सान्दर्भिक छ । सान्दर्भिक किन पनि छ भने हालै मात्र भारतले नेपालको कालापानी क्षेत्रलाई आफूतिर पारेर नक्सा जारी गरेको छ। कालापानी, लिम्पियधुरा अहिले भारतको नक्शामा परेपछि नेपालमा त्यसको विरोध भइरहेको छ। राजनीतिक दलहरुमा राष्ट्रवादप्रति अभूतपूर्व एकता देखिएको छ भने, जनतामा राष्ट्रवाद उर्लिएको छ। कलाकारहरु पनि भारतीय विवादास्पद नक्सा प्रकाशनपछि राष्ट्रवादी गीतहरु गाइरहेका छन्। माथि लेखिएका शब्द विनोद विकको आवाजमा रहेको गीतको हो। यो गीत २०५८/२०५९ साल तिर गाएको गायक विनोद विक बताउँछन् ।

नेपालका सीमाना अतिक्रमण भएपछि नेपालमा विरोध भइरहँदा विनोद विकको यो गीत मात्र हैन अहिले नेपाली साँस्कृतिक बजारमा राष्ट्रभक्ति जगाउने सचेतनामूलक गीतहरु आइरहेका छन्। डिजिटल प्लेटफर्म युट्युबमा हालै रेकर्ड भएर सार्वजनिक गरिएका राष्ट्रवादी गीतहरु दर्जनौ छन्।

नेपालका वरिष्ठ कलाकर्मीहरु मिलेर एक राष्ट्रवादी गीत बनाएका छन्। ‘सिमानामा हाम्रो माटो मिच्न नखोज, छिमेकीलाई जथाभावी थिच्न नखोज’ बोलको गीतमा चेतन सापकोटादेखि बाबा बस्नेतसम्म देखिएका छन्। यो गीतमा नेपालका ख्यातिप्राप्त कलाकारहरुको अनुहार देख्न पाइन्छ । निर शाह, कोमल वली, दिपकराज गीरी, दिपाश्री निरौला, चेतन सापकोटा, यम बराल, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, प्रेमराज महत, अर्जुन जंग शाही, निर्मल शर्मा, किरण केसी, आकाश अधिकारी, मोहन निरौला, सुभाष गजुरेल, शिवहरी पौडेल, मणि थापा, शैलेन्द्र सिम्खडा, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, कृष्ण ढुङ्गाना, रिता गुरागाँई लगायतले अभिनय गरेका छन्।

उनीहरुले गीतकै माध्यमबाट नेपालको भूमि नमिच्न भारतलाई खबदारी गरेका छन्। सो गीतमा हाम्रो सिमाना तिमीलाई कस्ले दियो, हामी त्यसलाई पनि नाङ्गेझार पार्छौ भन्ने भाव पोखिएको छ। । गीतमा ‘हामी गोरखाली हौँ, विश्वका साथी पनि हौँ तर ख्याल गर मेचीकाली भित्र यदि कसैले दुष्ट पाइला टेक्छ भने हामी त्यो हेरेर बस्नेवाला छैनौं’ भनिएको छ। हिमाल, पहाड, तराई–मधेशलाई बर्षौंदेखि मिचिएको नेपाली भूमिबारे आमजनतालाई संगीतका माध्यमबाट कलाकारहरु सचेत पारेका छन्। नेताहरुलाई खवदारी गरेका छन्।

चर्चित लोकदोहोरी गायिका पूर्णकला विसीले पनि यतिबेला लोकदोहोरी होइन राष्ट्रवादी गीत गाएकी छन्। मनोजसिंह धामीले शब्द, संगीत र स्वरबद्ध गरेको ‘हाम्रै हो कालापानी’बोलको गीतमा पूर्णकलाले जोशपूर्ण आवाज दिएकी छन्। जब पूर्णकलाको आवाजमा सुनिन्छ, ‘नेपाल आमा दिन्नौ तिम्रो अस्मिता लुटिन’ शरीरमा नभएका रौं पनि उठ्छन्। अनि लाग्छ आज मेरो आमाको अस्मितालाई कसैले लुटिरहेको छ । आफ्नै सन्तानको अगाडि आमाको अस्मिता लुटिँदा कुन चाहिँ सन्तानलाई हेरर रमाउन मन लाग्छ र ? त्यतिबेला लाग्छ – आफ्नो नजिकै भएको हतियार उठाएर आमाको अस्मिता लुट्ने दुष्टलाई सिध्याइदिउँ।

यो गीतले तपाईलाई पनि भावुक बनायो होला। भावुक मात्र हैन रगत उम्लेको पनि होला । प्रेम सापकोटाले पनि चुपचाप बस्ने नेपालका राजनीतिक दलका नेता र रोइरहने नेपाली जनतको बारेमा एक राष्ट्रवादी गीत ल्याएका छन्। यूट्युबमा सार्वजनिक यो गीतले पनि लाखौं भ्यूज पाएको छ। राजतीतिक दलहरुले युवा र उर्जा बेचेको आरोप सो गीतमा लगाइएको छ। अथवा नेताहरुलाई खवदारी गरिएको छ। उनले गीतका माध्यमबाट भनेका छन् – नेपाली नक्सामा नेपाली भूमि नै छैन सीमा स¥यो भनेर नेपाली जनता कहिले सम्म रुने? अब हामी वीर गोरखाली चुपचाप भएर बस्न नहुने उनको गीतमा भाव छ।

यी गीतहरु नेपाली कलाकारहरुले भारतको ज्यादतीविरुद्ध देखाएको विरोधका प्रतिनिधि गीतहरु मात्र हुन् । सामाजिक संजाललाई हेर्ने हो नेपालको सिमानामा भारतले गरेको ज्यादती विरुद्धमा हरेक कलाकारले आ–आफ्नो संगीत शब्द र स्वरबाट भारतलाई खबरदारी गरेका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *