महिला ह्याण्डबलः भारतले जित्यो स्वर्ण, नेपाललाई रजत

डिसी नेपाल
२२ मंसिर २०७६ २१:३९

पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न ह्याण्डबल प्रतियोगितामा भारतले स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको छ । यस अघि १२औँ सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो ।

भारतकै गुहावटीमा भएको १२औँ संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२औँ संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो । स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । किपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल जोडे ।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिईन् । कविता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३/३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कविता राई र र शान्तिकला राईले समान १/१ गोल थपे ।

बङ्गलादेशलाई कास्य

१३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।

भारतको गुहावटीमा भएको १२औँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जीत निकालेको हो । १२औँ सागमा पाकिस्तान कास्य पदक विजेता हो । पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *