प्रिमियरमा ‘सेलिब्रेटी’को बोलीः ‘झुर’ फिल्मलाई पनि ‘वाह’ !

डिसी नेपाल
२४ मंसिर २०७६ १२:५०

काठमाडौं। – मंसिर १३ गतेदेखि फिल्म ‘सरौतो’ प्रदर्शनमा आयो। प्रदर्शनको पहिलो दिन नै केही चर्चित कलाकारहरुलाई फिल्म देखाइयो। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि दीपकराज गिरी, केदार घिमिरे, प्रशान्त ताम्राकारसम्मले फिल्म हेरिसकेपछि मिडियाअगाडि फिल्म राम्रो भएको प्रतिक्रिया दिए। हरिवंशले त फिल्मकी अभिनेत्री सुमी मोक्तानलाई ‘ब्रुस लीको बहिनी’ समेत भन्न भ्याए।

–गत शुक्रबारदेखि प्रदर्शनमा आएको सौगात मल्ल अभिनित फिल्म ‘माछा माछा’को बुधबार नै प्रिमियर गरियो। प्रिमियरमा यो फिल्मभित्र र बाहिरका कलाकारहरुले ‘माछा माछा’लाई राम्रो प्रतिक्रिया दिए।

–मंसिर ६ गतेदेखि प्रदर्शनमा आएको आर्यन सिग्देल, मिरुना मगर अभिनित फिल्म ‘चच हुई’ले विशेष शोमा कलाकारहरुको तारिफ पायो। अभिनेता विराज भट्टले फिल्मलाई उत्कृष्ट भने। उनले कथावस्तु, प्रस्तुतीसँगै सबै कलाकारको अभिनय उत्कृष्ट लागेको बताउँदै सबैलाई फिल्म हेर्न आग्रह समेत गर्न भ्याए। त्यस्तै दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्माता रविन्द्रसिंह बानिया, रेनशा वान्तवा राई, सलोन बस्नेत लगायतले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।

–यता कार्तिक २२ गतेदेखि प्रदर्शनमा आएको निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड शेरे’ले कलाकारहरुको खुबै प्रशंशा पायो। कलाकारहरुले कथावस्तु, प्रस्तुती, कलाकारको अभिनय, निर्देशकीय क्षमताको प्रशंशा गरेका थिए। जसमा अशोक शर्मा, केदार घिमिरे (माग्नेबुढा), प्रदीप भट्टराई, गौरव पहारी, संयम पुरी लगायत थिए। अभिनेत्री आश्मा डिसीले त फिल्मलाई आफूले अहिलेसम्म हेरेको फिल्ममध्ये सबैभन्दा उत्कृष्ट लागेको समेत बताइन्।

प्रिमियरमा पुग्ने सेलिब्रेटीहरुले हरेक फिल्मलाई तारिफमात्र गर्ने कि गल्ती पनि औंल्याइदिने? निर्माता/निर्देशक सेलिब्रेटीको झुटो तारिफमा रमाउने कि दर्शकबाट तारिफ पाउने फिल्म बनाउने?

प्रिमियरमा कलाकारहरुले रुचाएका भनिएका यी पछिल्ला केही सुपर फ्लप फिल्मका उदाहरण हुन्। यस्ता थुप्रै फिल्म छन् जसलाई प्रिमियरमा कलाकारले राम्रो भनेपनि बक्स अफिसमा पत्तासाप भएका छन्।

‘झुट’ बोल्नु बाध्यता !
चलेका कलाकार आएर आफ्नो फिल्म हेरेर त्यसबारे राम्रो बोलिदिँदा दर्शक हलसम्म तानिन्छन् भन्ने निर्माता/निर्देशक सोच्छन्। त्यसैले फिल्म यूनिटले ‘विशेष शो’, ‘प्रिमियर’ वा ‘सेलिब्रेटी शो’मा अधिकांश आफू निकटका कलाकारहरुलाई बोलाउँछन्। ती कलाकारहरुको बाध्यता हुन्छ फिल्म जस्तो भएपनि मिडियामाझ ‘राम्रो छ’ भनिदिनु। त्यसैले त्यस्ता शोमा कलाकारहरुले कुनै फिल्मलाई नराम्रो भनेको सुनिदैन।

‘सरौतो’हेरेपछि क्यामेराअगाडि राम्रो प्रतिक्रिया दिएकामध्ये एक कलाकार लगत्तै डिसी नेपालसँगको कुराकानीमा भने विपरित सुनिएका थिए। उनी भन्दै थिए –‘मिडिया अगाडि राम्रो भन्नुपर्ने बाध्यता छ हजुर! तर, फिल्म धेरै कुरामा चिप्लिएको रहेछ। यस्तो फिल्ममा दर्शक कसरी टिक्छन् ?’

निर्माता तथा कलाकार दीपकराज गिरी पनि फिल्म हेरेपछि राम्रो भनिदिनु आफ्नो मात्र नभई हरेक कलाकारहरुको बाध्यता भएको बताउँछन्। उनी आफूहरुले प्रिमियरमा भनेका कुरालाई साँचो मानेर फिल्म नहेर्न समेत दर्शकलाई सुझाउँछन्।

‘फिल्म औसतभन्दा तल बनिरहेका हुन्छन्। तर, प्रिमियरमा हामीले राम्रो भन्नुपर्छ’ दीपकले डिसी नेपालसँग भने, –‘हामीले प्रिमियरमा भनेको कुरालाई साँचो मानेर फिल्म हेर्नु हुँदैन। किनभने हामीले प्रिमियरमा निःशुल्क फिल्म हेरेका हुन्छौं। फिल्मको टिमसँग सम्बन्ध हुने भएकोले उनीहरूले पनि राम्रो भनिदेओस् भन्ने आशा गरेका हुन्छन् । यो त हाम्रो वाध्यता हो।’

कलाकारले राम्रो भनिदिँदा फिल्मको व्यापारमा चाँही कत्तिको प्लस हुन्छ? दीपकराज भन्छन्, ‘प्लस गरेजस्तो लाग्दैन। किनकि दर्शकले पहिल्यैदेखि यो फिल्म हेर्ने, यो नहेर्ने सोचिसकेका हुन्छन्। हिजोआजका दर्शकहरु धेरै बाठा छन्।’

भर्खरै ‘छ माया छपक्कै’जस्तो सुपरहिट फिल्म दिएका निर्देशक दीपेन्द्र लामाको धारणा पनि दीपकराजसँग मेल खान्छ। उनी यसले फिल्म पब्लिसिटीमा केही प्लस गरेपनि व्यापारमा खासै प्लस नगर्ने बताउँछन्।

‘दर्शकहरूले फिल्म घोषणादेखि नै फिल्म कुन व्यानरबाट बनिरहेको छ, कलाकार को–को छन् भनेर वाच गरिरहेका हुन्छन्। टिजर/ट्रेलरबाट उनीहरु यो फिल्म हेर्ने, यो नहेर्ने सोच बनाइसकेका हुन्छन्। दर्शकहरू आफैमा चलाख भइसकेका छन्’–दीपेन्द्र भन्छन्।

कलाकारहरुले प्रिमियरमा दिएका त्यस्ता प्रतिक्रियालाई दर्शकहरुले विश्वास गर्न छाडेको उनी बताउँछन्। ‘कलाकारहरुले साथीको फिल्म भएर राम्रो भनिदिएको होला भन्ने दर्शकले बुझिसकेका छन्’ –दीपेन्द्र भन्छन्। दीपकराज पनि कलाकारहरुले बाध्यताले यसो भनिरहेका छन् भन्ने दर्शकहरुले बुझिसकेको धारणा राख्छन्।

फिल्म बनिरहेका छन्, डुबिरहेका छन्। तर, कलाकारहरु प्रिमियरमा पुगेका हरेक फिल्मलाई तारिफ गरिरहेका छन्। निर्माता/निर्देशक पनि कलाकारको झुटो तारिफ फेसबुकमा शेयर गर्दै आत्मरतिमा रमाइरहेका छन्। प्रिमियरमा पुग्ने सेलिब्रेटीहरुले हरेक फिल्मलाई तारिफमात्र गर्ने कि गल्ती पनि औंल्याइदिने? निर्माता/निर्देशक सेलिब्रेटीको झुटो तारिफमा रमाउने कि दर्शकबाट तारिफ पाउने फिल्म बनाउने?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *