द्वन्द्वमा ‘हराएका’ सगुन १६ वर्षपछि मृतक घोषित

डिसी नेपाल
२६ मंसिर २०७६ ८:१६

काभ्रेपलाञ्चोक। परिवारको सदस्यको मृत्यु भएपछि आइलाग्ने शोक र पीडा त छँदै छ साथमा औपचारिकरूपमा मृत्यु भएको घोषणाका लागि पनि कति लामो झन्झट बोक्नुपर्छ भन्ने स्थितिको दृष्टान्त धुलिखेलमा देखिएको छ। धुलिखेल नगरपालिका–७ बस्ने दुर्गादेवी श्रेष्ठले सशस्त्र युद्धको क्रममा श्रीमान् सगुन श्रेष्ठ २०६१ पुस १६ गतेदेखि बेपत्ता भएको विवरणका साथ जिल्ला अदालत काभ्रेमा मृत्यु भएको घोषणा गर्न निवेदन दर्ता गरेको पनि वर्षौं बितिसकेको थियो।

स्थलगत सर्जिमिन मुचुल्का, वडा कार्यालयबाट बेपत्ता भएको सिफारिस तथा नाता प्रमाणितसम्मका कागजात तयार पारेपछि जिल्ला अदालतले मृतक घोषणा गरिदिएको थियो।बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गतसाता काभ्रे जिल्ला अदालतमा गरेको अन्तरक्रिया कार्यक्रममा मृतक सगुन श्रेष्ठकी श्रीमती दुर्गा श्रेष्ठलाई इंगित गर्दै आयोजकले घटनाका बारेमा जानकारी गराएपछि ढिला गरी यस व्यथाको पोको खुलेको हो।

शोक सन्तप्त दुर्गाले गत असार ५ गते नै अदालतको फैसला पाए पनि ‘दुःख देखाएर के कामु भन्दै घटना गोप्य राखेकी थिइन्।सशस्त्र द्वन्द्वका क्रममा मृत्यु, बेपत्ता तथा अन्य घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिको ढिलाइबाट दिक्क भएर सरोकारवाला परिवार नियमित अदालती प्रक्रियामा प्रवेश गर्न थालेको दृष्टान्त पनि सगुन श्रेष्ठको घटना भएको छ।

‘पटक–पटक खोजबिनका लागि उजुरी गरें, सरकारले खोजबिन र छानबिनका लागि आयोग बनेको छ, पख–पख भनिरह्यो, आजित भएर म जिल्ला अदालत गएकी हुँ, प्रभावित दुर्गा श्रेष्ठले भनिन्– ‘कति वर्षसम्म बेपत्ता श्रीमान् भनेर बसिरहुँ?’

दुर्गाले जस्तै पीडा भोग्ने परिवार ठूलो छ। धुलिखेल नगरपालिका–११ बस्ने शारदा पौड्याल धितालले श्रीमान् हरिशरण धिताल १६ वर्षदेखि बेपत्ता भएकाले न्यायिक मृत्यु घोषणा गरी पाऊँ भनी २०७५ माघ २५ गते जिल्ला अदालतमा निवेदन दिएकी थिइन्।

जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलले तत्काल नाता प्रमाणित, स्थलगत सर्जिमिनसहित आवश्यक कागजात माग गर्ने आदेश गरेका थिए। सोही आदेशबमोजिम आवश्यक प्रक्रिया पूरा गरी ४८ वर्षीया शारदाले अदालतमा बुझाएको कागजातका आधारमा जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काले २०७५ साल माघ २९ गते मृत्यु भएको घोषणा गरे।

नागरिकता र अन्य सुविधासमेत पाउन नसकेकाले निकासका लागि आफन्तहरूले मुलुकी देवानी कार्यविधि संहिता–२०७४ को दफा ४० बमोजिम अदालतमा निवेदन दिएका हुन्। शारदाले भने– ‘एकल महिलाका लागि राज्यले प्रदान गर्नेे सुविधाका लागि समेत अदालत जानुपरेको हो।’

सगुन २६ वर्षको उमेरमा धुलिखेलबाट बेपत्ता हुनुभएको थियो। श्रेष्ठलाई बेपत्ताको सूचीमा २०६५/२०६६ देखि राखिएको थियो। जिल्लामा यसरी बेपत्ता हुनेको संख्या ४० रहेको छ। नेपाल समाचारपत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *