उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग नभएकोप्रति चिन्ता

डिसी नेपाल
२७ मंसिर २०७६ २१:३५

काठमाडौं । ठूलो सङ्ख्यामा विदेशमा श्रम र पसिना बगाएर स्वेदश पठाएको विप्रेषणको सही सदुपयोग नभएकोमा चिन्ता व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भमा पारेर नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोजना) ले आयोजना गरेको ‘कामदारमा लागि रेमिट्यान्स र वित्तीय सक्षारतामा अभिमुखीकरण तालीमको भूमिका’ विषयको अन्तरक्रियामा सहभागीले उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनअनुसार विप्रेषणको झण्डै ८० प्रतिशत दैनिक उपभोग्य सामग्रीको खरिदमा प्रयोग हुने गरेको छ । अनुत्पादक क्षेत्रमा विप्रेषणको ठूलो हिस्सा खर्च गरिँदा कामदार र तीनको परिवारको आर्थिक अवस्था कमजोर रहँदै आएको छ । हुण्डीलाई निरुत्साहित गर्न नसक्दा विप्रेषण बैङ्किङ प्रणालीमार्फत आउन नसकेको भन्दै कार्यक्रममा विप्रेषणको सम्पूर्ण हिस्सालाई औपचारिक ढङ्गबाट भित्रयाउन लागत घटाएर प्रेरित गर्नुपर्नेमा जोड दिइएको थियो । हुण्डीबाट विप्रेषण पठाउँदा असुरक्षित हुनाका साथै कामदार र स्वयम् मुलुकका लागि ठूलो नोक्सानी हुनेतर्फ पनि कामदारलाई अभिमुखीकरण गर्नुपर्ने अन्तरक्रियामा सहभागीको भनाइ थियो ।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरणसम्बन्धी पाठ्यक्रम संशोधन गरी वित्तीय साक्षरताका विषय समावेश गर्ने तयारी अन्तिम चरणमा पुगेको र एक महिनाभित्र कार्यान्वयनमा आउने बताए । विप्रेषण भित्रयाउन तथा बचत गर्न बैङ्क तथा वित्तीय संस्थाको आकर्षण बढेको भए पनि सीप सिकेर स्वदेश फर्केका युवालाई स्वरोजगार बनाउनेतर्फ वित्तीय संस्थाले ध्यान नदिएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

विप्रेषणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैङ्कको विदेशी विनियम व्यवस्थापन विभागका उपनिर्देशक डा भागवत आचार्यले विप्रेषणको सही सदुपयोग र हुण्डी निरुत्साहनका लागि सचेतना फैलाउनुपर्नेमा जोड दिए । राष्ट्र बैङ्कले २०७० सालदेखि नै वित्तीय साक्षरता कार्यक्रम घोषणा गरेको जानकारी दिँदै उनले विप्रेषणको उत्पादनशील क्षेत्रमा प्रयोग नगरिए मुलुकको आर्थिक अवस्था खस्कन सक्ने बताए ।

ग्लोबल आइएमई बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले विदेशमा आर्जन गरेको पारिश्रमिक सुरक्षित तबरले घरसम्म पु¥याउन नसके वैदेशिक रोजगारीको कुनै औँचित्य नहुने बताए। महासंघका विष्णु गोपाल गडतौलाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्दै कमाएका रकमलाई सुरक्षित तबरबाट स्थानान्तरण गर्न र स्वदेशमा लगानीका सम्भावनाका बारेमा अग्रिम जानकारी लिन वित्तीय साक्षरता आश्यक रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *