टेक्ससको सिटी अफ अर्भिंग र नेपालको गोकर्णेश्वर नगरपालिका बिच ‘सिस्टर सिटी’ सम्बन्ध स्थापनाको पहल

डिसी नेपाल
२८ मंसिर २०७६ १३:३५

नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससको संयोजन र सिटी अफ अर्भिंग तथा अर्भिंग-लस कोलिनस च्याम्बर अफ कमर्शको निमन्त्रणमा अमेरिकाको भ्रमणमा आएको गोकर्णेश्वर नगरपालिका, काठमाडौँ नेपालको एक प्रतिनिधिमण्डललाई सिटी अफ अर्भिंगले हिजो एक विशेष स्वागत तथा सम्मान गरेको छ।

टेक्ससको सिटी अफ अर्भिंग र नेपालको गोकर्णेश्वर नगरपालिका बिच ‘ सिस्टर सिटी’ सम्बन्ध स्थापनाका लागी नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्श, डालस, टेक्ससले पहल सुरु गरे पछि पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाको तिन सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागी अमेरिका आएको थियो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले अर्भिंग सहरमा स्थित महत्त्वपूर्ण कार्यालयको अवलोकनका साथ साथै फोहर मैला व्यवस्थापन, प्रहरी सुरक्षा, शुद्ध खानेपानीको उचित व्यवस्थापन तथा दमकल र अन्य आपत्कालीन सुविधाका बारेमा जानकारी हासिल गरेको थियो।

भ्रमणको अन्तिम दिन पारेर स्थानीय सभाकक्षमा आयोजना गरिएको उक्त परिचय तथा सम्मान कार्यक्रममा आयोजक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले सिटी अफ अर्भिंगको यो न्यानो आतिथ्यताका लागी आफू ऋणी भएको बताउँदै आफ्नो नगरपालिकाका लागी अत्यावश्यक विषयवस्तुमा धेरै कुरा सिक्ने मौका मिलेको बताए।

सिटी अफ अर्भिंगका मेयर रिक स्टोफरले प्रतिनिधि मण्डललाई स्वागत गर्दै गोकर्णेश्वर नगरपालिकासँग थप सम्बन्ध बिस्तारका लागी आफू इच्छुक रहेको बताए। सो समारोहमा मेयर लगायत ८ काउन्सिल मेम्बरहरू, सिटी अफ अर्भिंगका प्रहरी प्रमुख, फायर प्रमुख र सिटी अफ अर्भिंगका प्रबन्धकहरू,अर्भिंग-लस कोलिनस च्याम्बर अफ कमर्सका प्रतिनिधिहरू, नेपलिज-अमेरिकन च्याम्बर अफ कमर्सका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता थियो।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीको नेतृत्वमा आएको टोलीमा नेपालको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ५ का प्रमुख नारायण सुबेदी र वार्ड नम्बर ६ का प्रमुख रमेश अर्याल रहेका छन्।

हिजो आयोजित सो समारोहमा प्रतिनिधि मण्डलले सिटी अफ अर्भिंगका मेयर रिक स्टोफरलागएत सम्पूर्ण काउन्सिल मेम्बरहरूलाई २०२० मा नेपाल भ्रमण औपचारिक निमन्त्रणा समेत गरेको छ। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेद्वारा प्रेषित औपचारिक पत्र सिटी अफ अर्भिंगका मेयर रिक स्टोफरलाई प्रदान गरिएको थियो।

सोही अवसर पारेर मेयर लगायत सम्पूर्ण काउन्सिल मेम्बरहरू तथा सहरका प्रमुख अधिकारीहरूलाई ‘भ्रमण वर्ष २०२०’ का बारेमा जानकारी गराउँदै नेपाली टोपी तथा अन्य उपहारहरु समेत हस्तान्तरण गरिएको थियो। मेयर स्टोफरका लागी भने बुद्धको एक विशेष मूर्ति गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ५ का प्रमुख नारायण सुबेदीले उपहार स्वरूप प्रदान गरेका थिए।

गोकर्णेश्वर नगरपालिका र सिटी अफ अर्भिंग बिच ‘सिस्टर सिटी’ को सम्बन्ध स्थापनार्थ सुरुवात गरिएको यो भेटघाट पश्चात् सिटी अफ अर्भिंगको टोली सन् २०२० को समरमा नेपाल जाने समेत योजना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *