कलाकार दीपक क्षेत्रीको अन्त्येष्टि भोलिमात्र हुने
काठमाडौं। शनिबार ५८ वर्षको उमेरमा निधन भएका वरिष्ठ कलाकार दीपक क्षेत्रीको अन्त्येष्टि भोलि (सोमबार) मात्रै गरिने भएको छ।
अहिले महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा राखिएको पार्थिव शरीरको सोमबार बिहान पोस्टमार्टम गरिने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले डिसी नेपाललाई बताए।
अहिले परिवार तथा आफन्तहरू साथै चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरु अस्पतालमा पुगेका छन्। क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा मृत भेटिएका थिए। उनको मृत्यु प्राकृतिक मान्न नसकिने अवस्था रहेकोले पोष्टमार्टम गर्नुपरेको हो ।
शुक्रबार साँझ कोठाको चुक्कुल लगाएर सुतेका क्षेत्री शनिबार अबेरसम्म नउठेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा मृत भेटिएका थिए। गएको वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका क्षेत्रीको केही समय अगाडि शल्यक्रिया गरिएको थियो।
दर्जनौं चलचित्रमा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका क्षेत्रीको अभिनयको निकै प्रशंसा हुने गर्दथ्यो। उनले सिमाना, मसान, झोला, राज्जा रानी, बुलबुल लगायत दर्जनौं चलचित्रमा काम गरेका छन्। केही दिनअघि ५१ दिन मनाएको चलचित्र ‘छ माया छपक्कै’मा समेत उनको अभिनय छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment