धनुषा विस्फोट ‘रिसइवी’का कारण !

डिसी नेपाल
२९ मंसिर २०७६ २०:२९

धनुषा। धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा शुक्रवार राति भएको बम विस्फोटको घटनाको अनुसन्धान साँघुरो पार्दै लगिएको प्रहरीले जनाएको छ।

प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रद्युम्नकुमार कार्कीले अनुसन्धानको घेरालाई साँघुरो बनाइँदै गरिएकाले अनुसन्धान चाँडै निष्कर्षमा पुग्ने बताए।

‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हामी चाँडै घटनाको रहस्यलाई सुल्झाउँछौँ।’

क्षीरेश्वरनाथ नगरपालिकामा भएको उक्त घटनामा घरधनी राजेश साह, उनका १७ वर्षीय छोरा अनन्त र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको छ।

मृतक राजेश साहका बुबा भिखारी, छोरी अञ्जली, अर्का छोरा प्रकाश र प्रहरी जवान रिजन महतो घाइते छन्। राजेश साह र उनका छोरा अनन्त साहको मृत्यु भएपछि घरका सदस्यहरूले घटनाको कारणबारे अनुमान गर्न सकेका छैनन्।

अनुसन्धान टोलीले विभिन्न कोणबाट अनुसन्धान थाले पनि शोकाकुल परिवार सामान्य अवस्थामा आएपछि केही सुराक भेटिने विश्वासमा प्रहरी छ। घटना अनुसन्धानको क्रममा शनिवार नियन्त्रणमा लिइएका नेकपा विप्लव समूहका धनुषा इन्चार्ज ललिता महरा समेत तीन जनासँग सोधपुछ भइरहेको छ।

ूलेनदेन र व्यक्तिगत रिसइवीको कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ एक प्रहरी अधिकारीले भने। राजेश साह पेसाले औषधि व्यवसायी हुन्। तर उनले ब्याजमा ऋण लगानी गर्ने गरेको बताइएको छ। बम विस्फोटको सम्बन्ध त्यो सँग भए नभएकोबारे पनि प्रहरीले अनुसन्धान थालेको जानकारी दिइएको छ।

पीडित परिवार र उनका आफन्तजनले मृतक प्रहरी निरीक्षक दाहालले झोलामा रहेको प्रेसरकुकरलाई हातले चलाउँदा विस्फोट भएको बताए पनि प्रहरीले टाइमबम रहेकाले १२ बजे विस्फोट भएको दाबी गरेको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा उक्त घरको बरन्डानजिक कपडाको झोलाभित्र शङ्कास्पद वस्तु भेटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा अनुसन्धान गर्न टोली खटाइएको उल्लेख छ।

‘उक्त वस्तु अचानक विस्फोटन हुँदा प्रहरी निरीक्षक दाहालसहित १० जना घाइते भएपछि तत्काल उपचारका लागि लगिएकोमा राजेश साह, आनन्द साह तथा प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा मृत्यु भएको हो।’

क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले मृतक राजेशका पिता भिखारी साह, उनका कान्छा छोरा प्रकाश साह र छोरी अञ्जली साहको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका छन्।

घटनामा मृत्यु भएका राजेश र उनका छोरा अनन्त साहको जलाद नदी छेउमा र प्रहरी निरीक्षक अमिर दाहालको पशुपति आर्यघाटमा शनिवार साँझ दाहसंस्कार गरिएको छ।

शोकमा क्षीरेश्वरनाथ नगरपालिकामा आइतवार सार्वजनिक बिदा दिइएको छ। उद्योग वाणिज्य सङ्घको आह्वानमा बजार बन्द छ। धनुषा जिल्लाको शिक्षण संस्थामा पनि बिदा दिइएको छ।

आइतवार मृतक राजेश साहको घर पुगेका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले बेहोरिदिने प्रतिबद्धता जनाए।

‘तीन जनाको ज्यान लिने जघन्य अपराध गरेकाहरूलाई कानुनको दायरामा ल्याइनेछ,’उनले भने। राजनीतिक सङ्क्रमणकालका बेलादेखि नै तराईका विभिन्न भूभागमा अशान्ति मच्चिएको थियो।

संविधानसभाको पहिलो चुनावको समयताका त्यहाँ दर्जनौँ सशस्त्र समूहहरू देखा परे।त्यतिखेर त्यहाँ साना हतियार एवम् बमहरूको बिगबिगी नै भएको सुरक्षा अधिकारीहरूले बताउने गरेका थिए।

माओवादी सशस्त्र द्वन्द्वताका अनि सशस्त्र समूहहरू सक्रिय भएको बेला यस क्षेत्रमा लगातार बम विस्फोटका घटनाहरू भएका थिए। पछिल्लो समय शान्त रहे पनि केही महिनायता निरन्तर बम फेला पर्ने र विस्फोट हुने क्रम पुनः बढेको देखिन्छ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार राति ११ बजेतिर भएको विस्फोटबाट कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको छ।

त्यो बम कसले पड्काएको हो भन्ने कुरा खुल्न सकेको छैन। यो गाउँपालिकामा पछिल्लो केही दिनयता हरहिसाब सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको थियो।

धनुषा घटनामा प्रहरी निरीक्षकको ज्यान गएको छ भने केही महिनाअघि रौतहटमा भएको बम विस्फोटमा एक जना प्रहरी घाइते भएका थिए।

ईशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा कार्तिकमा विस्फोट हुँदा प्रहरी जवान घाइते भएका थिए। खास गरेर सरकारी कार्यालयलाई लक्षित गरेर विस्फोट गराउने र बम राख्ने गतिविधि यो प्रदेशमा बढेको बताइन्छ।

मंसिर २३ मा मात्रै महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकामा प्रेसर कुकुर बम विस्फोट गराउने योजनाका साथ राखिएको फेला परेको थियो।

जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र पार्किङ गरी राखिएको गाडीमुनि झोलाभित्र प्रेसर कुकर बम फेला परेको थियो। फेला परेको उक्त बमलाई नेपाली सेनाको बम टोलीले निष्क्रिय गरेको थियो।

यसअघि १३ मंसिरमा सिरहाको धनगढीमाई नगरपालिकास्थित मेयरको कार्यकक्ष अगाडिको ढोकामा पनि प्रेसर कुकर बम फेला परेको थियो।

प्लास्टिकको झोलामा राखिएको अवस्थामा फेला परेको बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो।

ूलगातार बम फेला पर्ने अनि विस्फोट हुने घटनाले सर्वसाधारण त्रसित भएका छन्। साथै शान्ति सुरक्षा बहाली गर्ने प्रहरी पनि बम विस्फोटको सिकार भइरहेका छन्,ू यादव बताउँछन्। (बीबीसी नेपालीबाट)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *