केशव भट्टराईप्रति श्रद्धाञ्जलिस्वरूप कसले के लेखे ?

डिसी नेपाल
३० मंसिर २०७६ १२:२०

काठमाडौं। नेपाली चलचित्र क्षेत्र अहिले शोकमा छ। लगातार २ दिनमा २ जना वरिष्ठ चलचित्रकर्मीको निधनले चलचित्र क्षेत्रलाई ठूलो क्षति पुगेको छ। शनिबार चलचित्र क्षेत्रले बरिष्ठ अभिनेता दीपक क्षेत्रीलाई गुमायो। त्यसको भोलीपल्टै आईतबार चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अप्रत्याशित निधन भयो।

अहिले सामाजिक सञ्जाल पनि यी दुईप्रति चलचित्रकर्मीले व्यक्त गरेका श्रद्धान्जलीले भरिएका छन्। कतिपयले उनिसँग खिचाएका फोटो राखेर उनलाई कहिल्यै नबिर्सने वाचा गरेका छन् भने कतिले उनको गुण पनि सम्झेका छन्। कलाकार दीपकराज गिरीले भट्टराईको तस्वीर पोष्ट गर्दै भावुक स्टाटस लेखेका छन्।

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले भट्टराईको तस्वीर फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, –चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई ज्यूको असमायिक निधनको खबरले अत्यन्त दुखित बनायो। हार्दिक श्रद्धाञ्जली।

चलचित्र निर्देशक प्रदीप भट्टराईले लेखेका छन्,– आफ्नो सम्पूर्ण जीवन चलचित्रमा सुम्पिनुभएका एक महान कलाकार, ‘दौतरी’ ‘ठूल्दाई’ ‘आफ्नो मान्छे’ जस्ता राम्रा थुप्रै सिनेमा बनाउने सफल निर्माता अनि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई दाइको निधनले स्तव्ध बनाएको छ ।
दाइको आत्माको चीरशान्तिको लागि भावपूर्ण श्रद्धान्जली।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले भने ‘हे भगवान के सुन्नु परेको यो’ भनेर लेखेकी छिन्।

अभिनेत्री सरिता लामिछानेले ‘स्तब्ध… भावपूर्ण श्रद्धाञ्जली’ लेखेकी छिन्।

अभिनेता रेमश उप्रेतीले स्वर्गीय भट्टराईको तस्वीर पोष्ट गदैृ यसो लेखेका छन्, ‘आखिर के नै रहेछ जिंदगी! असल मांछे भगवानको प्यारो छिट्टै हँुदो रहेछ, हे इश्वर यो कस्तो लीला हो तिम्रो? एक दिन जानू त सबैलाई छ, तर अचानक! हार्दिक श्रद्धाञ्जली ठूल्दाई हजुरको स्वर्गमा बास होस्।

अभिनेत्री करिष्मा मानन्धरको स्टाटस् यस्तो छ, ‘जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो। दुई आँखामा एकमा आशु अर्कोमा रुवाइ छ। के घमण्ड गर्नु, के रिस राग र फुर्ती गर्नु! अन्त्यमा यसैगरी सुटुक्क सबैसंग छुट्टीएर जानुछ। अत्यन्तै मिलनसार आँखामा राखे पनि नबिझाउने केशव भट्टराई दाइको निधनले मन आक्रान्त भएको छ। हजुरले चलचित्र क्षेत्रलाई दिएको योगदानप्रति आभारी छौं।

वरिष्ठ अभिनेत्री मिथिला शर्माले पनि स्वर्गीय भट्टराईको निधनपछि स्टाटस पोष्ट गरेकी छिन्। उनले लेखकी छिन्, –केशव भाइ के भयो? हे भगवान कस्तो लिला तिम्रो! जीवन चक्र हो, जन्म र मृत्यु तर यस्तो मृत्यु कसैलाई नदेउ भगवान। के लेखु तिम्रो लागि भाइ, तिमी सबैको आफन्त, आफ्नो मान्छे धेरैले आश गरेको। हामी त निराशाको भुमरीमा पर्यौ। तिम्रो बैकुण्ठ बास होस् भाई।

अन्य थुप्रै चलचित्रकर्मीले भट्टराईको निधनप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *