नेपालमा लगानी बढाउन उपयुक्त वातावरण छ : राजदूत आचार्य

डिसी नेपाल
८ पुष २०७६ १९:००

नयाँ दिल्ली । छिमेकी मुलुक भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपालमा अहिले लगानीको उपयुक्त वातावरण बनेकाले भारतीय उद्यमी तथा व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन् ।

सोमबार कर्नाटक राज्यको बेङ्लोरमा नेपाली दूतावासको सहकार्य र भारत–नेपाल केन्द्र, एसडीएसको सहयोगमा पिएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आयोजना गरेको ‘नेपालमा व्यापार र लगानीको सम्भाव्यताको खोजी’ विषयक सम्मेलनमा राजदूत आचार्यले नेपालमा लगानीको अनुकूल समय रहेको भन्दै लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका हुन्।

सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’नजिकिदै गर्दा छिमेकी मुलुक भारतमा यसलाई व्यापक रुपमा प्रचारप्रसार थालिएको छ । सोही अवसरमा बेङ्लोरमा यो सम्मेलनको आयोजना गरिएको थियो।

कार्यक्रममा भारतीय व्यवसायीसँग कुरा गर्दै राजदूत आचार्यले नेपाल विकासको गतिमा अघि बढिसकेकोले भ्रमण वर्ष लगानीकर्ताहरूका लागि एक उचित वातावरण भएको बताए । प्राकृतिक स्रोत, साधन र विकासको अथाह सम्भावनाले भरिपूर्ण नेपाल लगानीका लागि उर्वर भूमि रहेको उनको भनाइ थियो ।

त्यस्तै उनले नेपालका प्रमुख पर्यटकीय स्थलकाबारेमा जानकारी गराउँदै भ्रमण वर्षमा नेपाल घुम्न आउन निम्तोसमेत दिएका थिए।

दक्षिण भारतका बुद्धिजीवी, व्यापारी, नेपाली मूलका व्यापारी, प्रवासी नेपाली र विद्यार्थी सहभागि रहेको कार्यक्रममा भ्रमण वर्षलाई थप प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा राजदूतसहित दूतावासकी आर्थिक (मन्त्री) निता पोखरेल अर्याल, आर्थिक काउन्सिलर तीर्थ पौडेल, भारत-नेपाल केन्द्र, पिएचडी च्याम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अध्यक्ष के वी राजन, नेपाल एसबीआई लिमिटेडका प्रबन्ध निर्देशक अनुकुल भटनागर, कर्नाटक सरकारका पर्यटन विभागका निर्देशक केएन रमेश, कर्नाटक च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष सीआर जनार्धना, लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन विभिन्न प्रवासी संगठनको व्यवस्थापनमा भूमिका थियो । अखिल भारत नेपाल एकता मञ्च, प्रवासी नेपाली संघ भारत, मुल प्रवाह एकता समाजलगायतका संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *