कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरु

डिसी नेपाल
१० पुष २०७६ ६:४१

सुर्खेत । कर्णालीमा पहिलो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिकामा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धतिको शुरुआत गरिएको छ।

भेरीगङ्गाले नगरका पाँच वटा विद्यालयमा शिक्षणको आधुनिक प्रविधिमैत्री ‘भर्चुअल सिकाइ’ कक्षा सञ्चालन गरेको हो।

नगरका शिक्षा, युवा तथा खेलकूद शाखाका उपसचिव धीरेन्द्रप्रसाद शर्माले नगरपालिका कार्यालयमा रहेको कन्ट्रोल रुमसँग इन्टरनेट जडान गरिएका स्कूलहरुमा एकसाथ कक्षा १० को अंग्रेजी, गणित र विज्ञान विषय पढाउन थालिएको बताए ।

उनका अनुसार ती विद्यालयमा अध्ययनरत ७०० विद्यार्थीलाई लक्षित गरी ‘भर्चुअल’ विधिद्वारा शिक्षण गराइएको छ ।

नगरपालिकाले सिकाइ उपलब्धी प्रभावकारी बनाउन कक्षाकोठामा इन्टरनेटका साथै टेलिभिजन, कम्प्युटरलगायतका उच्च प्रविधियुक्त शैक्षिक सामग्रीको व्यवस्था पनि गरेको छ।

नगरपालिकाकाले पहिलोपटक शारदा मावि छिन्चु, शिखर मावि रामघाट, प्रभात मावि थानीचौर, जनज्योति मावि झिङ्नी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लोदेमा यस्तो सिकाइ शुरुआत गरेको छ। उपसचिव शर्माले भर्चुअल सिकाइले शिक्षक व्यवस्थापनमा ठूलो मद्दत पुगेको बताए ।

“लोदे र थानीचौरमा माध्यमिक तहको दरबन्दी शुन्य छ, यस्तो अवस्थामा हाम्रो कन्ट्रोल रुमबाट शिक्षकले सेसन सञ्चालन गर्नुहुन्छ,” उनले भने, “दक्ष एवं विषयगत शिक्षकको अभावको समस्या हट्नुका साथै विद्यार्थीको गुणस्तरमा पनि सुधार आउनेछ । नगरपालिकामा उपस्थित हुन नसक्ने शिक्षकले जुनसुकै विद्यालयमा पुगेर पनि एकैपटक शिक्षण गराउन सक्नेछन्।”

भर्चुअल सिकाइले शिक्षक र विद्यार्थीबीच दोहोरो संवादको वातावरण सिर्जना गर्दछ । “जुनसुकै सेसनको विद्यार्थीले पालैपालो कन्ट्रोल रुमका शिक्षकलाई सोध्न सक्नेछन्, एउटा सेसनको विद्यार्थीले अर्को सेसनका विद्यार्थीको सिकाइका साथै पोशाक, अनुशासनलगायतका बारेमा बुझ्ने मौका मिल्नेछ, त्यस हिसाबले यो अहिलेसम्मकै आधुनिक र स्तरीय प्रविधिको शिक्षण सिकाइ हो,” उपसचिव शर्माले भने ।

दोहोरो संवादसहितको भर्चुअल सिकाइ शुरु गरिएको सम्भवतः नेपालकै पहिलोपटक भएको उनको जिकिर छ । नगरपालिकाको चालू आर्थिक वर्षको रु. १६ लाख ५० हजार बजेटबाट भर्चुअल सिकाइ शुरुआत गरिएको हो ।

नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले विद्यार्थीहरुको सिकाइलाई अब्बल बनाउन कार्यक्रम प्रभावकारी हुने धारणा राखे । उनले भने, “विद्यालयको गुणस्तर सुधार गर्न, शिक्षण व्यवस्थापन सहयोग गर्न र कक्षाकोठालाई आधुनिक प्रविधिमैत्री बनाउन यस्तो विधिको शुरुआत गरिएको छ, यसलाई उपलब्धीपूर्ण गराउन प्रधानाध्यापकको विशेष भूमिका रहनुपर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *