अन्ना हजारेले मुख्यमन्त्रीसँग आफ्नो सुरक्षा हटाउन माग गर्दै भने ‘मलाई केही भए मै जिम्मेवार’
मुम्बइ। भारतका बरिष्ठ सत्याग्रही समाजसेवी अन्ना हजारेले शुक्रबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र लेख्दै आफूलाई कुनै किसिमको सुरक्षा आवश्यक नभएको बताएका छन् । उनले पत्रमा यदि आफूलाई केही भएमा त्यसको जिम्मेवार आफैं हुने उल्लेख गरेका छन् । महिलाको सुरक्षाको मुद्दामा अन्ना आफ्नो गाउँ रालेगण सिद्धीमा २० डिसेम्बरदेखि मौन ब्रतमा छन् ।
अन्नाले हुलाकमार्फत पठाएको पत्रमा अगाडि लेखेका छन् ‘मन्दिरमा बस्ने म जस्तो एक फकीरको सुरक्षामा सरकार मोटो रकम खर्च गरिरहेको छ । नागरिकबाट करको रुपमा प्राप्त पैसाको यसरी दुरुपयोग भएको हेर्न सकिन्न । अरुलाई सुरक्षा गहनाजस्तो लाग्छ होला तर मेरो लागि यो राम्रो कुरा होइन । मलाई केही मानिसहरुले धम्की दिएका छन् तर म मर्न डराउँदिन । सुरक्षाका बावजुद कोही मर्दैन भन्ने ग्यारेन्टी दिन सकिन्न किनकि पूर्व प्रधानमन्त्रीहरु इन्दिरा गान्धी र राजीव गान्धीको कडा सुरक्षाका बीच हत्या गरिएको थियो ।’
महाराष्ट्रको सत्ता सम्हालेपछि उद्धव सरकारले राज्यका प्रमुख व्यक्तिहरुको सुरक्षामा फेरबदल गरेको हो । राज्य सरकारको सुरक्षा समितिले ९० जनाको सुरक्षाको समीक्षा गरेको थियो । त्यसपछि अन्नालाई जेड श्रेणीको सुरक्षा दिने निर्णय भएको थियो । जेड श्रेणीको सुरक्षामा ४ देखि ५ जना एनएसजी कमाण्डोसहित २२ जना सुरक्षाकर्मी परिचालन हुन्छन् । यसअघि अन्नालाई वाइ श्रेणीको सुरक्षा दिइन्थ्यो । अहिलेसम्म अन्नाको यो पत्रको जवाफमा मुख्यमन्त्री वा गृहमन्त्रीको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment