१८ वर्षकी युवतीले पुलिस र प्रशासनलाई उल्लु बनाएर ७ घण्टासम्म डोजरले खाल्डो खनाइन्

डिसी नेपाल
१२ पुष २०७६ ११:०३

काठमाडौं। १८ वर्षकी एक युवतीको हर्कतले प्रशासन र पुलिसलाई उल्लु बनाएको घटना अहिले चर्चाको विषय बनेको छ । ती युवतीले सबैलाई यसरी उल्लु बनाइन् कि पुलिस र प्रशासनले ७ घण्टासम्म डोजरले खाल्डो खने तर केही हात लागेन । घटना भारतको राजस्थान राज्यको अनुपपुराको भएको भारतीय मिडिया दैनिक भास्करको समाचारमा उल्लेख छ । रोचक त के भने यो अनौठो घटना घटाउने युवतीको नाम पनि अनोखी (नेपालीमा अनौठो) नै हो ।

समाचारमा जनाइएअनुसार परिवारले खेतमा बोलवेल (पानी बोरिङ गर्न बनाइएको साँघुरो गहिरो खाल्डो) नजिकै अनोखीका कपडा र पत्र भेटेका थिए । पत्रमा लेखिएको थियो ‘अ म भेटिन्न । म बालाजीको फरिश्ता हुँ ।’ अनोखीको यस्तो पत्र भेटिएपछि परिवारलाई अनोखीले बोरवेलमा हाम्फालेर आत्महत्या गरेको आशंका भयो । उनहिरुले पुलिसलाई खबर गरे ।

पुलिस र प्रशासनको टिम खेतमा पुग्यो । उनीहरुले तत्कालै उद्धार अपरेशन सुरु गरे । तत्कालै डोजर बोलाएर बोरवेल खन्न थालियो । करिब ७ घण्टासम्म खन्ने काम जारी रह्यो । यही क्रममा पुलिसले खबर पायो – जुन युवतीको खोजी बोरवेलमा भइरहेको छ ती युवती त जयपुरमा प्रेमीसँग भेटिइन् ।

परिवारका अनुसार खेतमा कच्ची र उपयोगमा नरहेको बोरवेल ढुंगाले ढाकेर राखिएको थियो । तर अनोखीका कपडा र पत्र भेटिँदा ती ढुंगाहरु हटाइएका थिए । यही आधारमा उनी बोरवेलभित्र खसेको अनुमान लगाइयो । उता पुलिसलाई पनि सुरुमा केही शंका भएको थियो किनकि बोरवेलको चौडाइ कम थियो र युवतीको उमेर १८ वर्ष थियो । घटनालाई शंकास्पद मानेर पुलिसले २ दिशामा अनुसन्धान अगाडि बढाएको थियो । परिवारसँग गरिएको सोधपुछमा प्राप्त जानकारीका आधारमा पुलिसले अर्को एक टिम जयपुरमा सम्भावित स्थानमा खोजीको लागि परिचालन गरेको थियो ।

पुलिस अधिकारी मनराज मीणाका अनुसार युवती अनोखी देवीलाई सीतापुरा जयपुरमा रहेको एक घरमा भेटिएको हो । उनीसँग एक युवक पनि थिए जो जयपुरमै एक कम्पनीमा काम गर्थे । प्रारम्भिक अनुन्धानमा प्रेम प्रसंगको घटना पाइएको छ । पुलिस युवतीलाई लिएर फर्किएको छ । युवतीमाथि बोरवेलमा खसेको नाटक गरेको तथा प्रशासनलाई दुख थिएको आरोपमा कारवाहीको तयारी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *