नेपाली विद्यार्थीद्वारा दिल्लीमा गरिब तथा विपन्नहरूलाई लत्ताकपडा वितरण 

डिसी नेपाल
१४ पुष २०७६ १३:२८

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको छाता संगठन हातेमालो नेपाली विद्यार्थी समूहले आइतबार गरिब तथा विपन्न वर्गहरूका लागि कपडा संकलन गरेर वितरण गरेको छ।

‘सेवा नै धर्म हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै लत्ताकपडा सङ्कलनबाट सुरुवात गरिएको युक्त कार्यक्रम लक्ष्मीनगरमा रही सिए अध्ययन गरिरहेका विद्यार्थीहरूका साथै दिल्लीका अन्य विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सक्रिय सहभागितामा न्यानो कपडा वितरण गरिएको थियो।

विशेषत डिसेम्बर देखि फेब्रुअरी सम्म दिल्लीमा दिन प्रतिदिन बढिरहने जाडोले आर्थिक रूपमा असक्षम, मजदुर एवं विपन्न वर्गहरूलाई जाडो कटाउन निकै नै गाह्रो हुने र कठ्याङ्ग्रिएर मृत्यु सम्मका भयावह परिस्थिति हुने गरेको छ। खुल्ला आकाश मुनि रात कटाउन बाध्य परिवारहरूलाई राहत होस् भन्ने उद्देश्यले कपडा संकलन एवं वितरण कार्यक्रमको आयोजना गरिएको संगठनका सचिव आरक्षण रिजालले डिसी नेपाललाई बताए।

विद्यार्थी एवं सहयोगी उदार मनबाट सङ्कलन गरिएका ५ सय  थान भन्दा बढी लत्ताकपडाहरूलाई हातेमालोका प्रतिनिधिहरूले दिल्लीको कश्मीरी गेटको हनुमान मन्दिर परिसर र लक्ष्मीनगर वरपरका ठाउँहरूमा वितरण गरिएको कार्यक्रमका संयोजक विपल चौलागाईंले जानकारी दिए । लत्ताकपडा पाएका व्यक्तिहरूका मुहारमा धेरै पछि खुसी पलाएको देखेर आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू गर्नका लागि आफूलाई प्रेरणा मिलेको उनको प्रतिक्रिया थियो।

सहानुभूतिमा मात्र सीमित नभई उदारता र मानवता देखाउनु मानवीय कर्तव्य हो भन्ने मन्त्रलाई आत्मसात् गर्दै यो अभियानमा सहयोग गर्नै सबैलाई संगठनका अध्यक्ष रोशन कुमार यादवले धन्यवाद ज्ञापन गरेका छन् ।

हातेमालो नेपाली विद्यार्थी समूहले विगत केही वर्षदेखि गरिव तथा विपन्न वर्गहरूका लागि कपडा संकलन एवं वितरण गर्दै आएको छ। विद्यार्थीहरूको हकहितका कार्यहरूका साथै अन्य सामाजिक कार्यहरूमा पनि विगत लामो समयदेखि निरन्तर रूपमा क्रियाशील रहेको एक छाता संगठन हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *