कलाकारहरु भन्छन्, ‘सागका खेल हेर्न आफैं टिकट काटेर भएपनि जान्छौं’

डिसी नेपाल
१५ मंसिर २०७६ १६:००

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण नेपालमा हुँदैछ । सागका केही खेल दशरथ रंगशालामा सुरु पनि भइसकेका छन् । तर औपचारिक उद्घाटन भने आज हुँदैछ । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा उद्घाटन गर्दैछिन् ।

उद्घाटन समारोहलाई भव्य बनाउन रंगशाला बेहुलीझैं सिंगारिएको छ । १ हजार कलाकारहरु आफ्नो प्रस्तुतीको तयारीमा छन् । सागका लागि दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, भुटान र बंगलादेशका खेलाडीहरु नेपाल भित्रिइसकेका छन् । यस प्रतियोगितामा नेपालले खेलाडी, प्रशिक्षक र अन्य खेल पदाधिकारी गरी झण्डै ५ हजार भन्दा बढीको आतिथ्यता गर्दैछ ।

३५ वर्ष लामो इतिहास बोकेको यो प्रतियोगिता नेपालमा तेस्रो पटक हुँदैछ । जसका लागि खेलप्रेमीहरु मात्रै नभएर देश नै उत्साहित छ । साग प्रतियोगिताका लागि कलाकारहरु पनि निकै उत्साहित छन् । कतिपय कलाकारहरु त खेल हेर्न आफैं टिकट काटेर जाने तयारीमा छन् । हामीले सागका लागि कत्तिको उत्साहित हुनुहुन्छ, भनेर केही कलाकारलाई प्रश्न गरेका थियौ ।

रमेश उप्रेती :

अभिनेता रमेश उप्रेतीलाई सबैभन्दा धेरै मनपर्ने खेलमध्ये मार्सलआर्ट्स र किक बक्सिङ अग्रपंक्तिमा पर्छन् । त्यसका अलावा उनलाई फुटबल मन पर्छ । तर, उनी सागका खेल हेर्न जाने नजानेमा निश्चित नभएको बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म मलाई उद्घाटन वा खेल हेर्नका लागि इन्भिटेसन आएको छैन । मेरो इन्भिटेसन बिना कतै पनि जाने बानी छैन । त्यसैले सागका खेल हेर्न रंगाशाला जाने नजानेमा टुंगो छैन । तर, घरमा बसेर टेलिभिजनमा लाइभ भने हेर्छु ।’

दीपकराज गिरी :

अभिनेता दीपकराज गिरी खेलकुदमा निकै नै रुचि राख्छन् । उनलाई सबैभन्दा धेरै मनपर्ने खेल फुटबल हो । उनी बेला–बेलामा फुटबल खेल्ने गरेको पनि बताउँछन् । उनको दोस्रो रोजाइमा क्रिकेट पर्छ । गिरी साग खेल नेपालमा हुनुले निकै उत्साहित भएको बताउँछन् । अहिले भइरहेका सबै खेलको बारेमा पनि उनी जानकार छन् । तर, खेल हेर्न जान भने भ्याएका छैनन् ।

उनी भन्छन्, ‘मैले अहिले समय नमिलेर जान भ्याएको छैन । अब खेलाडीहरुलाई हौसला दिन जान्छु । तर, सबै खेल हेर्न भने जान भ्याउँदिन, फाइनल तिरका खेलहरु हेर्न भने टिकट काटेरै जान्छु ।’

प्रकाश सपुत :

गायक प्रकाश सपुतलाई मनपर्ने खेलको सूचिमा भलिबल अग्रपंक्तिमा पर्छ । उनी गाउँमा छँदा भलिबल धेरै खेल्ने गरेको बताउँछन् । तर शहर आएपछि मन हुँदाहुँदै पनि कामको व्यस्तताले खेल्न समय नमिलेको उनको भनाइ छ । साग प्रतियोगितामा उनको पनि निकै चासो छ ।

उनी अहिले चलिरहेको भलिबलका सबै खेल टेलिभिजनमा हेर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘मैले अहिले भैरहेको भलिबलका सबै खेल टीभीमा हेर्ने गरेको छु । महिला टिम फाइनलमा प्रवेश गरेको छ, त्यसका लागि महिला टिमलाई धेरै बधाई छ ।’

उनी अगाडि थप्छन्, ‘मलाई निकै खुसी केमा पनि लागेको छ भने, उद्घाटन सत्रमा मेरो गलबन्दी गीत पनि बज्दैछ ।’ उनी समय मिले टिकट नै काटेर भएपनि एकपटक फाइनल खेल हेर्न जाने तयारीमा छन् ।

जितु नेपाल :

अभिनेता जितु नेपालको सबैभन्दा मन पर्ने खेलमा फुटबल अग्रपंत्तिमा पर्छ । उनी बच्चा बेलामा फुटबल धेरै खेल्ने गरेको बताउँछन् । त्यस्तै उनलाई ब्याटमिन्टन र टेबल टेनिस पनि उत्तिकै मन पर्छ ।

जितु नेपाल सागका लागि अरु जस्तै उत्साहित सुनिन्छन् । उनी भन्छन्, ‘साग खेल नेपालमा हुनु निकै खुशीको कुरा हो । यसले पर्यटन प्रबर्धनमा पनि सहयोग पुर्याउँछ ।’ उनी अगाडि भन्छन्, ‘आज उद्घाटनमा जान म अलि व्यस्त छु । तर, फुटबल हेर्न चाँही म अवश्य जान्छु ।’

सागर लम्साल :

सक्किगोनीमा बलेको भूमिकाले चर्चित कलाकार सागर लम्साललाई सबैभन्दा मनपर्ने खेल बास्केटबल हो । त्यसका अलावा उनलाई क्रिकेट र फुटबल मन पर्छ । उनी बेला–बेलामा बास्केटबल खेल्न धाउने गरेको बताउँछन् ।

सागलाई लिएर उनी पनि निकै उत्साहित छन् । तर खेल हेर्न रंगशालामै जान नपाएकोमा चाँही उनी दुःखी छन् । उनी भन्छन्, ‘खेल हेर्न रंगशाला जान निकै मन थियो, तर के गर्नु काम पनि गर्नै पर्यो । तर अब समय मिलाएर टिभीमै हेरेर चित्त बुझाउँछु ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *