सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’

डिसी नेपाल
२१ पुष २०७६ २१:३१

जुम्ला । चन्दननाथ नगरपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई ‘निमन्त्रणा कार्ड’वितरण कार्य शुरु गरेको छ । नगरपालिकाले गर्भवती जाँच र सुरक्षित सुत्केरी गराउन स्वास्थ्यचौकी तथा अस्पतालमा आउन भन्दै गर्भवतीलाई निमन्त्रणा कार्ड दिनथालेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए।

गर्भवतीलाई नियमानुसार चारपटक गर्भ जाँच गराउन र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थप उत्तरदायी बनाउनका लागि निमन्त्रणा कार्ड नै बनाएर वितरण गर्न शुरु गरिएको महतले जानकारी दिए। समयमै गर्भ जाँच गराउने, घरमै सुत्केरी हुने दर घटाउने, आमा तथा बालबालिकाको स्वास्थ्य ग्यारेण्टी गर्ने उद्देश्यका साथ गर्भवतीलाई निमन्त्रणा कार्ड प्रदान गरिएको हो ।

नगरपालिका क्षेत्रभित्रका सबै गर्भवतीका घरमै पुगेर कार्ड वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार निमन्त्रणा कार्डले गर्भवती र तिनका अभिभावकलाई समयमै जाँच गराउन तथा सुत्केरी गराउन स्वास्थ्य संस्थामै लैजान दबाब पुग्नेछ । स्वास्थ्य निरीक्षक महतका अनुसार पहिलो चरणमा नगरपालिकाका वडा नं ६, ७, ८ र ९ का ९५ गर्भवतीलाई निमन्त्रणा कार्ड वितरण गरिएको छ । निमन्त्रणा कार्डमा एकातिर गर्भवतीको नाम, ठेगाना र सुत्केरी हुने समय उल्लेख गरिएको छ भने अर्कोतिर गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, अपनाउनुपर्ने सावधानी तथा पोषणयुक्त खानाबारे उललेख गरिएको महतले बताए ।

नगरपालिकाका प्रायः गरी अस्पतालमा बच्चा जन्माउने गर्ने तर पनि छुट नहोस् र शत प्रतिशत आमा र बालाबालिकाको जीवन सुरक्षा होस् भन्ने उद्देश्यका साथ अभियान थालिएको नगर उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकाले प्रायः गर्भवती सुत्केरीका लागि आउने गर्छन् । कोही नछुटन भन्ने उद्देश्यले थप दबाब र जानकारी कार्यक्रम अगाडि बढाइएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *