प्रहरीले किन लुकायो प्रधानमन्त्रीको ट्वीटर दुरुपयोगको प्रतिवेदन?

डिसी नेपाल
२३ पुष २०७६ ७:२७

काठमाडौं। गत पुस पाँच गते प्रधानमन्त्री केपी ओलीको ट्वीटर अकाउण्टबाट भारतीय कांग्रेस आईकी नेतृ सोनिया गान्धीको एउटा भिडियो रिट्वीट भएपछि प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले अहिले अनुसन्धान पूरा गरेर प्रतिवेदन प्रहरी महानिरीक्षक शर्वेन्द्र खनाललाई बुझाइ सकेको छ। करिव एक हप्ता अगाडि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सकेर प्रतिवेदन प्रहरी महानिरीक्षकलाई बुझाएको साइबर ब्यूरो स्रोतले जनाएको छ।

प्रतिवेदनमा के नतिजा उल्लेख छ भन्ने सार्वजनिक गरिएको छैन । यो विषयलाई प्रहरीले गोप्य राखेको छ। प्रहरीले यो विषयमा विभिन्न व्यक्तिसँग सोधपुछ गरेको थियो। तर प्रतिवेदनमा कसलाई दोषी देखाइएको छ भन्ने विषय सार्वजनिक गरिएको छैन।

‘यो भिभिआईपी केस भएको हुनाले गोप्य राखिएको हुनसक्छ,’ एक उच्च प्रहरी अधिकृतले डिसी नेपालसँग भने, ‘यस्तो अनुसन्धान केही सीमित अधिकृतले गर्ने गर्छन्। जसको रिपोर्ट सिधै आईजिपीलाई बुझाइन्छ।’

यो विषयमा साइबर ब्यूरोका एसएसीपीको नेतृत्वमा पाँच जना अधिकृतले अनुसन्धान गरेका थिए। अनसुन्धान पूरा गरी प्रतिवेदन आईजीपीलाई बुझाइसकेपनि त्यसलाई गोप्य नै राखिएको छ।

यो विषयमा साइबर ब्यूरोका एसएसीपीको नेतृत्वमा पाँच जना अधिकृतले अनुसन्धान गरेका थिए। अनसुन्धान पूरा गरी प्रतिवेदन आईजीपीलाई बुझाइसकेपनि त्यसलाई गोप्य नै राखिएको छ।

प्रहरीले यो विषयमा प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार डा. कुन्दन अर्यालसँग पनि सोधपुछ गरेको थियो। ब्यूरोको एक विशेष टोलीले त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागसँग प्रधानमन्त्रीका पूर्व सल्लाहकार अर्यालको विस्तृत विवरण माग गरेको स्रोतले बतायो। अर्याल त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका अध्यापक पनि हुन्। पत्रकारिता केन्द्रीय विभाग स्रोतका अनुसार अर्यालबारे सोधपुछ भएको हो ।

अनुसन्धानका क्रममा प्रधानमन्त्री निवास बालुवाटारभित्रका वा प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रका निर्धारित कम्प्युटरहरुको अध्ययन गर्दा ती ठाउँहरुमा प्रधानमन्त्रीको ट्वीटर ह्ण्डल सो दिन प्रयोगमा नआएकोले पूर्वसल्लाहकार अर्यालसँग सोधपुछ गरिएको स्रोतले जनाएको छ।

ट्वीटर दुरुपयोग भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘पासवर्ड दुरुपयोग भएको’ बताएका थिए। त्रिवि पत्रकारिता विभाग स्रोतले पटक पटक डा. अर्याललाई प्रहरीले फोन भने गरेको पुष्टि गरेको छ। स्रोतले भन्यो, ‘उहाँ (डा अर्याल) हामीसँगै हुँदा धेरै पटक प्रहरीको फोन आएको छ। केही कुरा हामीले पनि सुनेका हौं।’

अर्यालले भने यस विषयमा आफू बोलिरहनु आवश्यक नभएको बताए । ‘दुरुपयोग भएको दिन म जिम्मेवारीमा नै थिइन त्यसैले यस विषयमा मलाई केही जानकारी हुने कुरा हुँदैन’ उनले भने ‘कुनै कुराको अनुसन्धानको क्रममा सम्बन्धित सबैलाई सोधिन्छ त्यस क्रममा प्रहरीले मलाई पनि केही कुरा सोध्यो होला ।’ घटना हुनुभन्दा केही दिन अघिसम्म आफू प्रधानमन्त्रीको निकट व्यक्ति भएकोले प्रहरीले केही जानकारी लिन खोज्नु स्वभाविक भएको उनको भनाइ थियो ।

दुई हप्ताअघि अकस्मात प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय विपक्षी दलकी नेत्री सोनिया गान्धीको ट्वीट रिट्वीट भएको थियो। विपक्षी नेत्री सोनियाले भारतमा मुस्लिम नागरिकका विपक्षमा ल्याइएको नागरिकतासम्बन्धी कानुनको विषयलाई लिएर नरेन्द्र मोदीको सरकारका विरुद्धमा कडा विरोध गरेकी थिइन्।

त्यो भिडियो सन्देश थियो उनको आधिकारिक ट्वीटर ह्यान्डलमा। त्यही सन्देश नेपालका प्रधानमन्त्री ओलीले रिट्वीट गरेपछि दक्षिण एशियाभर ठूलो समाचारको विषय बनेको थियो। कसरी त्यो ट्वीट रिट्वीट भयो प्रश्नको जवाफ खोजेका नेपाली मिडियालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो ट्वीटरको पासवर्ड दूरुपयोग भएको जवाफ दिएका थिए।

बालुवाटारका आइटी अफिसरहरुले अनुसन्धान गरेपछि त्यो ट्वीटर ह्याक भएको नभई कसैले दुरुपयोग गरेको देखिन आएको रिपोर्ट दिएका थिए। त्यसपछि त्यस विषयमा प्रहरी लगाएरै अनुसन्धान थालिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *