मनै लोभ्याउने स्वयम्भूनाथ (भिडियो)

डिसी नेपाल
२४ पुष २०७६ ७:०७

काठमाडौं। स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूपा हो। यसलाई महाचैत्य पनि भनिन्छ। उपत्यकामा पानी भरिएको बेलामा यहाँ विपस्वी बुद्धले तीनपटक वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए।

त्यसपछि वैशाख पूर्णिमाको दिन मन्त्र गरेको कमलको बीउ दक्षिण फर्की दहमा रोपेका थिए। अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको थियो। जसमा पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पति भएको मानिन्छ ।

स्वयम्भूबाट काठमाडौंको अधिकांश भाग नियाल्न सकिन्छ। यहाँ धार्मिक पर्यटक मात्रै नभई काठमाडौंलाई नियाल्दै रमाउनेहरु पनि धेरै आउँछन्। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौं उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। भगवान मन्जुश्रीले पनि काठमाडौंको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गरेको उल्लेखित पुरानो ग्रन्थहरूमा पाइन्छ।

किम्बदन्ती स्वयम्भू पुराण अनुसार, पहिले उपत्यका ठूलो तालको रुपमा थियो जसबाट कमलको फूलको उत्पत्ति भएको थियो। त्यस पछि यसको नाम स्वयम्भू रहन गएको हो। स्वयम्भूनाथलाई विदेशी पर्यटकहरु मङ्की टेम्पल भनेर पनि सम्बोधन गर्छन्, किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर थुप्रै बादँरहरू पाइन्छन्।

मञ्जुश्रीले स्वयम्भूलाई बस्न योग्य बनाइसकेपछि कपाल नकाटी त्यँही बसेका र उनको कपालमा परेको जुम्राबाट नै पछि स्वयम्भूका बाँदरहरु उत्पति भएको भन्ने अर्को रोचक कथा छ। स्वयम्भूनाथ परिसरका केही स्तुप तथा मठ मन्दिर लिच्छबी कालमा बनेका छन्।

स्वयम्भूनाथको स्तुपामा बुद्धका आँखाको चित्र कोरिएको छ। आँखाहरुको बीचमा नाकको प्रतीक झल्कने गरी अंक १ पोतिएको छ। स्तुपा परिसरमा विभिन्न पसलहरु पनि छन्। बौद्धधर्म सम्बन्धि गीत, संगीत, तस्बिर तथा मूर्तिलगायतका सामाग्रीहरु यी पसलमा भेटिन्छन्।

स्तुपामा पुग्नको लागि दुईवटा बाटो छन्। स्तुपको पूर्वपट्टिको ३ सय ६५ सिँढीको बाटो हुँदै गएमा स्तुपामै पुग्न सकिन्छ भने अर्को पश्चिमको बाटोबाट गएमा गाडीमा गेटसम्म पुगिन्छ। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भुकम्पले स्वयम्भू क्षेत्रमा केही क्षति पुर्याएको थियो।

मुख्य स्तुपमा भने ठूलो क्षति भएको छैन। अहिले क्षति पुगेका सम्पदामा पुनः निर्माणको काम भइरहेको छ। झण्डै दैनिक ७ सय विदेशी पर्यटकहरु स्वयम्भु धुम्न आउँछन्।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यका अनुसार ती विदेशी पर्यटकहरुमा धेरै चिन र भारतका हुन्छन्। समितिले सार्क राष्ट्रका पर्यटकहरुका लागि ५० र अन्य देशबाट आउने पर्यटकका लागि २ सय प्रवेश शुल्क लिने गरेको छ। यसैबाट समितिले स्वयम्भूनाथको व्यवस्थापन गर्दै आएको छ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *