ट्राफिक जरिवानाको नयाँ रेकर्ड ! पुलिसले असुल्यो ४४ लाख जरिवाना

डिसी नेपाल
२५ पुष २०७६ ९:११

एजेन्सी। भारतमा गत वर्ष नयाँ ट्राफिक नियम लागू गरिएको थियो । त्यसपछि पुलिस र यातायात विभागले ठूलो परिमाणमा जरिवाना असुल्न सुरु गरेका थिए । हरेक दिन ठूलो परिमाणमा जरिवाना तिराइएका खबरहरु चर्चामा रहन्थे । तर, नयाँ वर्ष लागेपछि गुजरातमा एक कार मालिकसँग जति जरिवाना असुलियो त्यसले नयाँ रेकर्ड बनाएको छ । यी कार मालिकसँग असुलिएको जरिवानाले भारतमा अन्य ३–४ वटा कार किन्न सकिन्छ ।

गुजरातमा पुलिसले एक लग्जरी कारका मालिकसँग गाडीको कागजात नभएका कारण २७ लाख ६८ हजार भारु (४४ लाख १९ हजार नेपाली रुपैयाँ) असुलेको छ । आज तकको समाचार अनुसार पुलिसले कार मालिकसँग रोड ट्याक्सका जरिवाना १६ लाख, ट्याक्स जरिवानाको ब्याज ७ लाख ६८ हजार र पेनाल्टी ४ लाख रुपैयाँ गरी कूल २७ लाख ६८ हजार रुपैयाँ असुलेको छ । यो भारतमा अहिलेसम्म असुलिएको सबैभन्दा ठूलो जरिवाना हो ।

पुलिसले कारको फोटोसहित ट्वीटरमा पोस्ट लेख्दै यो कार २ वर्षदेखि कर नतिरी अहमदाबादको सडकमा घुमिरहेको र यसलाई हिरासतमा लिएर कार मालिकलाई २७.६८ लाख जरिवाना तिराइएको जनाएको छ । यो कार पोर्शे कम्पनीको हो र निकै विलासी कार मानिन्छ । भारतीय बजारमा यो कारको मूल्य सवा २ करोड भारु पर्ने समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *