पुसमा रिलिज भएनन् नेपाली फिल्म

डिसी नेपाल
२५ पुष २०७६ १४:०१

काठमाडौं। आज पुस महिनाको अन्तिम शुक्रबार। हलमा कुनै पनि नेपाली फिल्म रिलिज भएनन्।

यो शुक्रबार मात्र होइन्, पुसमा तीन शुक्रबार कुनैपनि नेपाली फिल्म रिलिज भएनन्।

महिनामा जम्मा एउटा मात्र नेपाली फिल्म रिलिज भयो, त्यो पनि बिना प्रचारप्रसार। गत शुक्रबार स्वर्गीय दीपक क्षेत्री अभिनित फिल्म ‘दम द पावर’ प्रदर्शनमा आएको थियो। महिनामा रिलिज भएको त्यही एउटा फिल्म पनि आए–गएको फिल्मकर्मीलाई समेत पत्तो भएन्, दर्शकलाई हुने कुरै भएन्। योसँगै पुस महिना नेपाली फिल्मको अभावमा सकिँदैछ।

नेपाली फिल्म रिलिज नभएपछि एक महिनादेखि हलमा विदेशी फिल्मको दबदबा छ। आज शुक्रबार पनि बलिउडका दुई ठूला फिल्म ‘छपाक’ र ‘तानाजी’ प्रदर्शनमा आएका छन्। यी फिल्मले मल्टीप्लेक्स हलमा उच्च सो पाएका छन्। त्यस्तै, आज हलिउड फिल्म ‘अन्डरवाटर’ पनि प्रदर्शनमा आएको छ।

मल्टिप्लेक्स हल विदेशी फिल्मले चलेपनि सिंगल हल नेपाली फिल्म नहुँदा सुनसान छन्। कति हल केही समयका लागि बन्द समेत भएका छन्। नेपाली फिल्म रिलिज नभएको एक महिना भएपनि दर्शकको खडेरी लागेको भने तिहारपछि हो।

बैशाखदेखी पुससम्म आउँदा ३ दर्जन बढी नेपाली फिल्म प्रदर्शनमा आएपनि चार फिल्मले मात्र नाफाको व्यापार गरेका छन्।

‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ले नाफाको व्यापार गरे। केही फिल्म लगानी सुरक्षितको नजिक पुगे। अधिकाँश फिल्मले लगानीको त कुरै छाडौं पोष्टरको पैसा पनि उठाउँन सकेनन्। तिहारपछि प्रदर्शनमा आएका दर्जन फिल्मले दर्शकको खडेरीमा घाटाको व्यापार गरे। आशा गरिएका फिल्म नै नराम्रोसँग चिप्लिए। जस्तो, हितारपछि निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित ‘घामड शेरे’, आर्यन सिग्देल अभिनित ‘चचहुई’, सौगात मल्ल अभिनित ‘माछा माछा’ ईत्यादी हलमा दर्शक तान्न सकेनन्।

अहिले नेपाली फिल्म नहुनुको कारण धेरैले जाडोलाई मानेका छन्। अर्को कारण भने यसवर्ष फिल्म नै कम बनेका छन्। कोही नेपाली निर्माता/निर्देशक के भन्छन् भने जाडो महिनामा फिल्म चल्दैनन्। कोहीको तर्क भने राम्रो फिल्म नभएर दर्शक नआएको भन्ने छ। उनीहरु भन्छन्,– राम्रो फिल्म हरेक समय चल्छ। यद्यपी: यो कुराको पुष्टि भने विदेशी फिल्मले गर्दै आएका छन्। आजदेखि प्रदर्शनमा आएका बलिउड फिल्म ‘छपाक’ र ‘तानाजी’ हेर्न बिहानै देखि नेपाली हलमा दर्शकको भीड देखिन्छ।

नेपाली फिल्मको खडेरी भने हलमा अझ, केही समय लाग्ने देखिएको छ। आउँदो शुक्रबार नेपाली फिल्म ‘१२ सत्ताईस’ प्रदर्शनमा आउँदैछ। अधिकांशको ध्यान अब माघको २४ गतेमा छ। किनकी यो मितिमा प्रदर्शनमा आउने विराज भट्टको ‘साङ्लो’ र विपिन कार्कीको ‘सेल्फी किङ’ले चिसिएको फिल्मको व्यापारलाई चलायमान बनाउने फिल्मकर्मीको अपेक्षा छ। फागुनपछि भने पुनः फिल्म रिलिजको ओइरो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *