बागलुङको सिमदेखि कालीमाटी पैराबारी जोड्ने सडक कालोपत्र शुरु

डिसी नेपाल
२६ पुष २०७६ ८:३९
32
Shares

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–६ सिमदेखि वडा नं ७ कालीमाटी पैराबारी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ।

बागलुङ नगरपालिकाभित्रका वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्ने योजनाअनुसार गत वर्ष जिल्ला सदरमुकाम हुँदै सिम पुगेको कालोपत्र सडकलाई कालीमाटी जोड्न थालिएको हो।

बागलुङ बजारदेखि कुडुँले, मालिका, पञ्चकोट हुँदै धम्जा देउराली पुग्ने क्षेत्रीय सडकलाई पालास्थित तितौरेमा जोड्ने गरी कालोपत्रको काम अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए।

“तीन वर्षभित्र सबै वडा कार्यालयसम्म कालोपत्र सडक पुर्याउने लक्ष्यसाथ काम थालिएको छ, पक्की सडकपछि नगरबस सञ्चालन हुनेछ्।”

सिम कालीमाटी सडक कालोपत्र भएपछि नगरका १४ मध्ये सात वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुग्नेछ।

सिम–कालीमाटी सडकको अहिले १.५ किलोमिटर कालोपत्र, २०० मिटर सडक ढलान गर्न २०७६ जेठ ८ गते फेवा कन्ट्रक्शनले ठेक्का सम्झौता गरी स्तरोन्नति थालेको थियो।

यही पुस मसान्तसम्म सडक निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले बताए।

शर्माका अनुसार बागलुङ नगरपालिकाको रु एक करोड १८ लाख र गण्डकी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको समपुरक अनुदानको रु एक करोड गरी दुई करोड १८ लाखमा सडक स्तरोन्नति, पक्की नाली, पर्खाल, कल्र्भटलगायका संरचना बनाएर कालोपत्र थालिएको हो।

आठ मिटर चौडा सडकमा पाँच मिटर कालोपत्र, १.२ मिटरको पक्की नाली रहनेगरी काम भइरहेको फेवा कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि राजु पौडेलले बताए।

पक्की सडकको पहुँच पुर्याउन थालेपछि जिल्ला सदरमुकाम आवतजावत गर्न सहज हुने नगरपालिका–७ का वडाध्यक्ष खजराज पाण्डेयले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *