सबैभन्दा चतुर चोर जसले २ महिनासम्म न्यायाधीशको कुर्सीमा बसेर मुद्दा फैसला समेत गरे

काठमाडौं। धनीराम मित्तल एउटा यस्तो नाम हो जसलाई भारतमा सबैभन्दा चतुर चोर मानिन्छ । उनी एक यस्ता चोर हुन् जसले फर्जी कागजातको यस्तोसम्म खेल खेले कि तिनै फर्जी कागजातका आधारमा न्यायाधीशको कुर्सीमा बसेर २ महिनासम्म मुद्दाको फैसला समेत गरे । यी चतुर चोरको कुटिल दिमागले गरेका कैयौं कामहरु अहिले पनि निकै चर्चित छन् ।

भनिन्छ, धनीरामले २५ वर्षको उमेरमै चोरीलाई आफ्नो पेशा बनाएका थिए । अमर उजालाका अनुसार सन् १९६४ मा पहिलो पटक उनलाई पुलिसले चोरी गर्दैगर्दा समातेको थियो । अहिले उनको उमेर ८० वर्ष भइसकेको छ र अहिले पनि उनी चोर नै छन् । तर, अहिले कसैलाई थाहा छैन कि यी शातिर चोर कहाँ छन् र कस्तो छन् ।

चोरीको इतिहासमा सबैभन्दा धेरै पटक पक्राउ हुने उनी पहिलो र एकमात्र चोर हुन् पनि भनिन्छ । पछिल्लो पटक धनीरामलाई सन् २०१६ मा चोरी गर्दागर्दै पक्राउ गरिएको थियो । त्यतिबेला पनि उनी पुलिसलाई झुक्याएर भागेका थिए । धनीरामले अहिलेसम्म १ हजारभन्दा धेरै गाडी चोरी गरिसकेको बताइन्छ । सबैभन्दा खास कुरा यी चोर दिनको उज्यालोमै चोरी गर्छन् ।

धनीराम मित्तलको एउटा रोचक घटना चर्चित छ । वर्षौं पहिले उनलाई चोरीको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरिएको थियो । त्यतिबेला जो न्यायाधीश थिए उनले कैयौं पटक धनीरामलाई आफ्नो अदालतमा देखिसकेका थिए । फेरि पनि धनीरामलाई नै ल्याइएपछि दिक्क भएर उनले धनीरामलाई अदालतबाट बाहिर जान भने ।

त्यसपछि धनीराम जानलाई उठे । उनीसँग आएका दुई पुलिसकर्मी पनि उनीसँगै उठेर बाहिर गए । बाहिर निस्केका धनीराम त्यहीँबाट बेपत्ता भए । जब अदालतमा धनीरामको नाम बोलाइयो पुलिसकर्मीको होस उड्यो किनकि धनीराम त फरार भइसकेका थिए । भनिन्छ, उनले ती पुलिसकर्मीलाई धनेका थिए कि न्यायाधीशले त उनलाई जान भनेकै थिए ।

भनिन्छ, धनीराम मित्तलले एलएलबीसम्म पढेका थिए । यसका अलावा उनले ह्याण्डराइटिङ विशेषज्ञ र ग्राफोलोजीको डिग्री पनि लिएका थिए । उनले यी डिग्री आफ्ना चोरीका कामलाई सफाइका साथ गर्न लिएका थिए । यिनै डिग्रीको सहयोगले उनले गाडी चोर्थे र तिनीहरुको नक्कली कागजात बनाएर बेचिदिन्थे ।

धनीरामको सबैभन्दा रोचक र चतुर काम यो हो कि उनी २ महिनासम्म न्यायाधीशको कुर्सीमा बसेर मुद्दाको फैसला गरे, यसको बारेमा कसैले पत्तै पाएनन् । उनले फर्जी कागजात बनाएर हरियाणाको झज्जर अदालतका एडिशनल सेसन जजलाई करिब २ महिना विदामा पठाएका थिए र उनको ठाउँमा आफैं न्यायाधीशको कुर्सीमा बसेका थिए ।

यो २ महिनामा उनले करिब २ हजार अपराधीहरुलाई जमानतमा रिहा गरिदिएका थिए । कैयौंलाई भने उनले जेल पठाउने फैसला पनि सुनाएका थिए । पछि यसको खुलासा हुँदासम्म धनीराम भागिसकेका थिए । त्यसपछि उनले जमानतमा रिहा गरेका अपराधीलाई फेरि समातेर जेलमा हालिएको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो