ढलरहित शहरको रुपमा विकास हुँदै रामपुर

डिसी नेपाल
२ माघ २०७६ २०:०४

बेझाड । पाल्पाको रामपुर नगरपालिकालाई ढलरहितको शहर बनाइने भएको छ ।

दैनिक निस्कने फोहरजन्य पदार्थलाई प्रशोधन गरी जैविक मल उत्पादन गरेर सफा सुन्दर रामपुर नगरपालिका बनाउने सङ्कल्पका साथ अगाडि बढेको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाहुँदै वगेका पवित्र कालीगण्डकी नदीलाई विष्णुमती र वाग्मती जस्तै दुर्गन्धित नभई सफा र स्वच्छ बनाउने तथा नगरपालिका भित्रका फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गरेर आयस्रोत बढाउने योजना कार्यान्वयनमा ल्याएको बताइएको छ ।

यहाँका खोला नदीनालामा फोहरजन्य ढल मिसाएर दुर्गन्धित बनाउन नदिने, सफा स्वच्छ रुपमा नदी खोलालाई आफ्नै बहावमा वग्न दिने र रामपुर नगरलाई नेपालकै नमूना ढलरहितको शहर बनाउने नगर प्रमुख रमणबहादुर थापाले बताए। “खोला नदीनालालाई ढल मिसाएर दुर्गन्धित नबनाउने भनी घोषणा पत्रमा पनि उल्लेख गरेका छौँ, यस क्षेत्रको वातावरणलाई स्वच्छ र सफा बनाउने विषय कार्यपालिकाको बैठकले समेत पारित गरिसकेको छ, यसमा सबैको प्रतिबद्धता र सहमति आवश्यक छ”, उनले भने।

नगरप्रमुख थापाले यहाँको फोहरमैलालाई व्यवस्थापन गर्न भ्याकुमको माध्यमबाट प्रशोधन गरी उत्पादन गरिएको जैविक मल तरकारी, फलफूल र बालीमा प्रयोग गराएर यहाँका जमीन हराभरा बनाउने बताए । फोहरमैला व्यवस्थापनका लागि केन्द्रीय सरकारबाट २ करोड रकम प्राप्त भएको छ । रामपुरको मुख्य बजार बेझाड बजारबाट मात्रै दैनिक करिब तीन टिपर जति फोहरजन्य पदार्थ सङ्कलन हुन्छ । बेझाड बजारका अलवा विजयपुर, किसानबारी, इस्लामपुर बजार क्षेत्रबाट यहाँ दैनिक करिब पाँच टिपरसम्म फोहरजन्य सामग्री निस्कने गर्दछ ।

दैनिक घर, बजार क्षेत्रबाट निस्कने फोहर तथा ढलजन्य पदार्थको उचित प्रशोधन गरेर नगरपालिकाले राम्रो आम्दानीको स्रोत बनाउने नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताए । “सफा र सुन्दर नगर, ढलरहितको शहर बनाएर नेपालकै नमूना नगरपालिकाका रुपमा रामपुरलाई चिनाउने छौँ, जहाँ यो क्षेत्र ढलरहित शहरको अवलोकन योग्य बन्नेछ”, उनले भए।

रामपुर नगरपालिकामा औद्योगिक ग्रामका लागि ९२ लाख रकम आएको छ । यसका लागि नगरपालिका भित्र ठाउँ पहिचान गर्ने कार्य हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *