४० वर्षअघि किनेको पेन्टिङ बेच्न खोज्दा ८३ वर्षे वृद्धलाई साढे ६ अर्ब जरिवाना र जेल सजाय

डिसी नेपाल
४ माघ २०७६ १५:१०

काठमाडौं। स्पेनका ८३ वर्षका एक वृद्धले ४० वर्षअघि किनेको एउटा पेन्टिङ बेच्न खोज्दा १८ महिनाको जेल सजाय र ५८ मिलियन डलर (साढे ६ अर्ब नेपाली रुपैयाँ) जरिवाना तिर्नुपरेको छ । स्पेनको मड्रिड हाइकोर्टले करोडपती व्यापारीलाई अवैध रुपमा २६ मिलियन डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) मूल्य बराबरको दुर्लभ पेन्टिङ अवैध रुपमा देशबाहिर लैजान लागेको अभियोगमा दोषी ठहर गरेको हो । बिहीबार उनलाई सजाय सुनाइएको हो ।

एनबीसी न्यूजका अनुसार यो पेन्टिङ महान चित्रकार पाब्लो पिकासोको थियो । यसलाई स्पेनको सरकारले राष्ट्रिय धरोहर घोषित गरेको छ । दोषी ठहरिएका ८३ वर्षका व्यापारी जेमी बोटिनले यो पेन्टिङलाई सन् १९७७ मा किनेका थिए । उनले यसलाई लण्डनको एक लिलामी घरलाई बेच्न लागेको आरोप लगाइएको थियो । यसको जानकारी पाएपछि कस्टम अधिकारीहरुले यसलाई बोटिनको याटबाट २०१५ मा जफत गरेका थिए । त्यतिबेला याट फ्रान्सको कोरसिका आइल्याण्डमा थियो । त्यतिबेलादेखि यो मुद्दा चलिरहेको थियो । अहिले यो पेन्टिङ स्पेनको रैना सोफिया म्युजियममा राखिएको छ ।

स्पेनको कानुनअनुसार कुनै पनि १०० वर्ष पुरानो वस्तु राष्ट्रिय धरोहर बन्छ । यस्ता कुनै पनि वस्तुलाई देशबाहिर बेच्नुभन्दा अगाडि प्रशासन र त्यो वस्तुका निर्माताको अनुमति अनिवार्य चाहिन्छ । बोटिनले पेन्टिङ बेच्नको लागि यस्तो कुनै अनुमति लिएका थिएनन् । बोटिन स्पेनको एउटा ठूलो बैंकको अध्यक्ष रहिसकेका छन् ।

२००४ सम्म उनका नाति त्यो बैंकका अध्यक्ष थिए । उनको उमेर र पहिलो पटक अपराधमा सहभागी भएको पाइएपछि अदालतले उनलाई सजायमा छुट दिएको थियो । यद्यपि बोटिनले भने अदालतमा आरोपलाई अस्वीकार गरिरहेका थिए । उनले आफूले पेन्टिङ स्पेनबाट नभइ स्विजरल्याण्डबाट किनेको बताएका थिए । उनका वकिलका अनुसार यो मुद्दा तस्करीको होइन किनकि पेन्टिङ विदेशबाटै किनिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *